अन्तर्राष्ट्रिय विद्यार्थी प्रती थप कडा बन्दै अष्ट्रेलिया
विद्यार्थी भिसाबाट बसाइँ लम्ब्याउने बाटो साँघुरिँदै, परिवार पछि बोलाउने व्यवस्था हट्यो; कोर्स र कलेज परिवर्तनमा पनि कडाइ
सिड्नी/१८ असोज । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ व्यवस्थाले अस्ट्रेलिया प्रवेश गर्नुअघि भिसा प्रक्रियालाई मात्र प्रभावित गरेको छैन, अस्ट्रेलिया पुगेपछि अर्को विद्यार्थी भिसा लिने, अध्ययनको क्रममा संस्था वा कोर्स परिवर्तन गर्ने तथा पछि श्रीमान्–श्रीमती वा आश्रित सन्तानलाई बोलाउने बाटोलाई समेत साँघुरो बनाएको छ।
२ अक्टोबर २०२६ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार अधिकांश अस्थायी भिसाधारीले अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसा (Subclass 500) का लागि आवेदन दिन पाउने छैनन्। त्यस्ता आवेदकले अस्ट्रेलियाबाहिरबाट आवेदन गर्नुपर्नेछ र भिसा स्वीकृत हुने समयमा पनि अस्ट्रेलियाबाहिरै हुनुपर्नेछ। अस्ट्रेलियाभित्रै आवेदन गर्नुपर्ने अवस्थामा नियमअनुसारको अपवाद नपरे आवेदन नै अमान्य हुन सक्छ।
अस्ट्रेलिया पुगेपछि अर्को विद्यार्थी भिसा लिन पनि सहज छैन
नयाँ व्यवस्था अहिले विद्यार्थी भिसामा रहेका व्यक्तिलाई समेत प्रभाव पार्छ। अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेका अधिकांश व्यक्तिले अर्को विद्यार्थी भिसाका लागि अस्ट्रेलियाभित्रै बसेर आवेदन दिन पाउने छैनन्।
तर सरकारले केही अवस्थालाई अपवादमा राखेको छ। उदाहरणका लागि, आफ्नो मुख्य अध्ययन पूरा गर्न थप १२ महिनासम्म आवश्यक पर्ने विद्यार्थी, पीएचडी अध्ययनमा जाने विद्यार्थी, प्राथमिक वा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (DFAT) वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी तथा केही निश्चित अवस्थामा अध्ययनको उच्च तहमा जाने विद्यार्थीले अस्ट्रेलियाभित्रै आवेदन दिन सक्ने व्यवस्था छ। शिक्षा प्रदायक बन्द भएको वा उसले अध्ययन सञ्चालन गर्न नसकेको अवस्थामा पनि विशेष व्यवस्था छ।
यसले अस्ट्रेलिया पुगेपछि आफ्नो अध्ययन योजना परिवर्तन गर्ने विद्यार्थीका लागि पहिलेको तुलनामा थप योजना र सावधानी आवश्यक बनाएको छ।
अर्थात्, विद्यार्थी भिसा लिएर अस्ट्रेलिया पुगेपछि एउटा कोर्स सकिएपछि अर्को कोर्समा सहजै सर्दै विद्यार्थी भिसा निरन्तरता दिने अभ्यास अब सबैका लागि समान रूपमा सम्भव रहने छैन।
परिवार पछि बोलाउने बाटो नै बन्द
नयाँ नियमको सबैभन्दा महत्वपूर्ण परिवर्तनमध्ये एक विद्यार्थीका श्रीमान्, श्रीमती वा आश्रित सन्तानसँग सम्बन्धित छ।
२ अक्टोबरपछि अधिकांश विद्यार्थीले विद्यार्थी भिसाको आवेदनमा आफ्ना परिवारका सदस्यलाई समावेश गर्न पाउने छैनन्। अझ महत्वपूर्ण कुरा, विद्यार्थी भिसा स्वीकृत भइसकेपछि परिवारका सदस्यले पछि ‘सब्सिक्वेन्ट इन्ट्रेन्ट’का रूपमा आवेदन दिएर विद्यार्थीलाई पछ्याउँदै अस्ट्रेलिया आउने व्यवस्था नै हटाइएको छ। यसमा कुनै सामान्य अपवादसमेत राखिएको छैन।
यसको अर्थ अब सामान्य अवस्थामा विद्यार्थी पहिले अस्ट्रेलिया जाने र केही समयपछि श्रीमान्, श्रीमती वा सन्तानलाई त्यही विद्यार्थी भिसाको आधारमा बोलाउने योजना बनाउन सकिने छैन।
कसलाई परिवार समावेश गर्न छुट छ ?
सरकारले भने केही सीमित समूहलाई परिवारसँगै आवेदन गर्ने सुविधा दिएको छ।
पीएचडी अध्ययन गर्ने विद्यार्थी, DFAT वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, विदेशी सरकारी छात्रवृत्ति प्राप्त विद्यार्थी तथा योग्य प्रशान्त क्षेत्र र आसियान सदस्य राष्ट्रका विद्यार्थीले निश्चित सर्त पूरा गरेमा परिवारलाई आफ्नो विद्यार्थी भिसा आवेदनमा समावेश गर्न सक्छन्।
त्यस्तै, पहिले नै विद्यार्थी भिसामा परिवार समावेश भएका र निश्चित अवस्थाका कारण अर्को विद्यार्थी भिसा लिनुपर्ने व्यक्तिका लागि पनि सीमित व्यवस्था छ। उदाहरणका लागि मुख्य कोर्स पूरा गर्न थप १२ महिना आवश्यक पर्ने वा शिक्षा प्रदायकका कारण अध्ययन प्रभावित भएको अवस्थामा पहिलेको परिवारलाई अर्को आवेदनमा समावेश गर्न सकिने व्यवस्था छ।
तर नयाँ विद्यार्थी भिसा स्वीकृत भएपछि छुट्टै आवेदनमार्फत परिवारलाई ‘subsequent entrant’ बनाउने पुरानो बाटो भने बन्द गरिएको छ।
‘कोर्स हपिङ’ रोक्न १२ महिनाको स्थानान्तरण प्रतिबन्ध
अस्ट्रेलियाले विद्यार्थीले देश प्रवेश गरेपछि एउटा शिक्षा प्रदायक छाडेर अर्कोमा जाने प्रवृत्तिमाथि पनि निगरानी बढाएको छ।
२ अक्टोबर २०२६ देखि गैर-विद्यालय क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एउटै शिक्षा प्रदायकको मुख्य कोर्समा कम्तीमा १२ महिना पूरा नगरी अर्को शिक्षा प्रदायकमा स्थानान्तरण गर्न नपाउने व्यवस्था अस्थायी रूपमा लागू भएको छ।
यो व्यवस्था ३० जुन २०२७ सम्म कायम रहनेछ। त्यसपछि १ जुलाई २०२७ देखि स्थानान्तरण प्रतिबन्धको अवधि पुनः ६ महिनामा फर्कनेछ। विद्यालय तहका विद्यार्थीका लागि भने छुट्टै व्यवस्था कायम छ।
यसको उद्देश्य विद्यार्थीले अस्ट्रेलिया प्रवेश गरेपछि छोटो अवधिमै बारम्बार शिक्षा प्रदायक परिवर्तन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु हो।
२०२७ देखि विद्यार्थी भिसामा थप संरचनात्मक कडाइ
अस्ट्रेलियाको विद्यार्थी भिसा सुधार २०२६ को नियममै सीमित रहने देखिँदैन।
सरकारले विद्यार्थीले अस्ट्रेलिया आएपछि कम तहका वा कमजोर गुणस्तरका कोर्समा सर्दै विद्यार्थी भिसाको अवधि लम्ब्याउने प्रवृत्तिलाई नियन्त्रण गर्न थप व्यवस्था अघि बढाइरहेको छ।
यसको केन्द्रमा विद्यार्थीको वास्तविक अध्ययन उद्देश्य, उसले रोजेको कोर्स र अध्ययनको प्रगतिको सम्बन्धलाई बलियो बनाउने प्रयास देखिन्छ।
यसले विद्यार्थी भिसालाई केवल अस्ट्रेलिया प्रवेश गर्ने माध्यम वा अस्थायी बसाइँ लम्ब्याउने साधनका रूपमा प्रयोग गर्ने सम्भावनामाथि सरकारको निगरानी बढ्दै गएको संकेत गर्छ।
एउटा विवादित पाठ्यक्रममै नयाँ विद्यार्थी भर्ना बन्द
विद्यार्थी भिसासम्बन्धी नयाँ नियमसँगै अस्ट्रेलियाले एउटा निश्चित पाठ्यक्रममा विदेशी विद्यार्थी भर्ना नै रोक्ने निर्णय पनि गरेको छ।
‘BSB80120 Graduate Diploma of Management (Learning)’ नामको पाठ्यक्रममा ५ अक्टोबर २०२६ देखि नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाइने भएको छ।
अस्ट्रेलियाको शिक्षा विभागका अनुसार उक्त पाठ्यक्रमसँग सम्बन्धित गतिविधिमा विद्यार्थी भिसा कार्यक्रमको इमानदारी र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको प्रतिष्ठामा असर पार्न सक्ने महत्वपूर्ण तथा प्रणालीगत समस्या पहिचान भएको थियो। त्यसैले उक्त पाठ्यक्रमको CRICOS दर्ता निलम्बन तथा रद्द गर्ने निर्णय गरिएको हो।
यसअघि नै उक्त पाठ्यक्रममा अध्ययन गरिरहेका विद्यार्थीले भने आफ्नो अध्ययन पूरा गर्न पाउनेछन्।
समयसीमा छल्न खोजिएको सरकारी दाबी
अझ रोचक पक्ष के छ भने पाठ्यक्रममा नयाँ विद्यार्थी भर्ना बन्द हुने घोषणा भएपछि केही शिक्षा प्रदायक र एजेन्टले उक्त समयसीमा छल्न खोजेको सरकारको दाबी छ।
अस्ट्रेलियाको शिक्षा मन्त्रालयका अनुसार संक्रमणकालीन अवधिमा १,३०० भन्दा बढी नयाँ ‘Confirmation of Enrolment’ (CoE) जारी गरिएको र १,५०० भन्दा बढी विद्यार्थीको अध्ययन सुरु हुने मिति अगाडि सारिएको पाइएको थियो। सरकारले यसलाई नयाँ नियम लागू हुनुअघि ठूलो संख्यामा विद्यार्थी भर्ना गराउने प्रयासका रूपमा हेरेको छ।
यस घटनाले अस्ट्रेलियाले अब केवल विद्यार्थीको भिसा आवेदन मात्र होइन, शिक्षा प्रदायक, पाठ्यक्रम र विद्यार्थी भर्नाको ढाँचामाथि समेत निगरानी बढाइरहेको देखाउँछ।
नेपाली विद्यार्थीका लागि किन महत्वपूर्ण ?
अस्ट्रेलियाको विद्यार्थी भिसामा गरिएको परिवर्तन नेपालका विद्यार्थीका लागि विशेष महत्वको विषय हो। नेपाल अस्ट्रेलियामा विद्यार्थी पठाउने प्रमुख देशमध्ये एक हो।
अस्ट्रेलियामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये धेरैले अध्ययनपछि अर्को तहको अध्ययन गर्ने, विषय वा शिक्षा प्रदायक परिवर्तन गर्ने अथवा भविष्यमा परिवारलाई अस्ट्रेलिया लैजाने योजना बनाएका हुन्छन्।
नयाँ नियमले यिनै विषयलाई प्रत्यक्ष प्रभावित गर्न सक्ने देखिन्छ।
विशेषगरी नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया जाने विद्यार्थीले आवेदन गर्नुअघि नै आफूले पढ्न लागेको कोर्स, त्यसको तह, शिक्षा प्रदायक, अध्ययन पूरा भएपछि सम्भावित अर्को अध्ययन तथा परिवार लैजाने योजनाबारे स्पष्ट हुनुपर्ने अवस्था आएको छ।
अस्ट्रेलिया पुगेपछि योजना परिवर्तन गर्न सकिँदैन भन्ने होइन। तर पहिलेको जस्तो सहज रूपमा देशभित्रै बसेर विद्यार्थी भिसा थप्ने वा परिवारलाई पछि बोलाउने विकल्प धेरैका लागि उपलब्ध छैन।
विद्यार्थीले अब के कुरामा ध्यान दिने ?
नयाँ नियमपछि अस्ट्रेलिया अध्ययनको योजना बनाउने विद्यार्थीले केही विषयमा विशेष ध्यान दिनुपर्ने भएको छ।
पहिलो, आफूले रोजेको कोर्स वास्तविक अध्ययन उद्देश्यसँग मेल खान्छ कि खाँदैन भन्ने कुरा स्पष्ट हुनुपर्छ।
दोस्रो, अध्ययनको क्रममा अर्को कोर्स वा शिक्षा प्रदायकमा जाने सम्भावना छ भने त्यसको नियम पहिल्यै बुझ्नुपर्छ। गैर-विद्यालय क्षेत्रमा पहिलो १२ महिनाको स्थानान्तरण प्रतिबन्धले यस्तो निर्णयलाई प्रभावित गर्न सक्छ।
तेस्रो, विद्यार्थीले भविष्यमा अर्को विद्यार्थी भिसा आवश्यक पर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि सुरुमै विचार गर्नुपर्छ। नयाँ नियमअनुसार धेरै विद्यार्थीले अर्को विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाहिर गएर आवेदन गर्नुपर्ने हुन सक्छ।
चौथो, श्रीमान्, श्रीमती वा सन्तानलाई पछि अस्ट्रेलिया लैजाने योजना छ भने अहिलेको विद्यार्थी भिसा नियममा त्यो बाटो उपलब्ध छ कि छैन भन्ने कुरा आवेदनअघि नै जाँच्नुपर्छ।
पाँचौँ, शिक्षा एजेन्ट वा कलेजको मौखिक जानकारीमा मात्र निर्भर हुनु जोखिमपूर्ण हुन सक्छ। अस्ट्रेलियाको गृह मामिला विभागले आवेदन, अध्ययन वा यात्रा योजना बनाउनुअघि नयाँ नियम र आफूलाई लागू हुने अपवाद जाँच गर्न आग्रह गरेको छ। गलत स्थानबाट गरिएको विद्यार्थी भिसा आवेदन अमान्य हुन सक्छ।
अस्ट्रेलियाको उद्देश्य विद्यार्थी रोक्नु होइन, प्रणालीमा कडाइ गर्नु
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पूर्ण रूपमा रोक्ने नीति लिएको भने होइन। गृह मामिला विभागले नयाँ नियम सार्वजनिक गर्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गरिरहने र आवश्यक योग्यता पूरा गर्ने व्यक्तिले विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने स्पष्ट गरेको छ।
तर विद्यार्थी भिसा लिएर अस्ट्रेलिया पुगेपछि अध्ययनभन्दा बाहिरका माध्यमबाट बसाइँ निरन्तर लम्ब्याउने, पटक–पटक कोर्स वा शिक्षा प्रदायक परिवर्तन गर्ने तथा विद्यार्थी भिसाकै आधारमा पछि परिवार ल्याउने पुराना विकल्पहरू भने क्रमशः सीमित हुँदै गएका छन्।
यसकारण अब अस्ट्रेलिया जाने नेपाली विद्यार्थीका लागि ‘पहिले अस्ट्रेलिया पुगौँ, त्यसपछि हेरौँला’ भन्ने रणनीतिभन्दा ‘कुन कोर्स, कुन तह, कुन संस्था, कति अवधि र त्यसपछि के गर्ने’ भन्ने स्पष्ट अध्ययन योजना बनाएर अघि बढ्नु महत्वपूर्ण भएको छ।
नयाँ व्यवस्थाले अस्ट्रेलियामा अध्ययनको ढोका बन्द गरेको छैन, तर विद्यार्थी भिसालाई बसाइँ लम्ब्याउने माध्यमका रूपमा प्रयोग गर्ने सम्भावनालाई भने पहिलेभन्दा कडा निगरानीमा राखेको छ।


Comments are closed.