‘पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर कांग्रेस अघि बढ्छ : गगन थापा’
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्ने बताउनुभएको छ।
पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले नयाँ र पुरानो पुस्ताबीच पुलको काम गर्ने बताउनुभयो। उहाँले पार्टीको नेतृत्व र कार्यशैलीमा समेत परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।
बीपी कोइराला र गणेशमान सिंहले स्थापना गरेको राजनीतिक मूल्य, मान्यता र आदर्शलाई कांग्रेसले निरन्तरता दिइरहेको उल्लेख गर्दै थापाले त्यही मूल्य पार्टीको आत्मा भएको बताउनुभयो।
अब कांग्रेसले आफ्नो शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार र संस्कृतिमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो। नयाँ पुस्ताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो।
थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौडले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाएको समेत बताउनुभयो। एकातिर राजनीतिप्रति चरम वितृष्णा र अर्कोतिर समाजमा बढ्दो अतिराजनीतिकरण देखिनु गम्भीर विषय भएको उहाँको भनाइ थियो।
यही अवस्थाको परिणामस्वरूप गत वर्ष भदौ २३ र २४ गतेको घटना भएको उहाँले बताउनुभयो। तर भदौ २३ गते भएको दमन र २४ गते भएको आपराधिक घटना दुवै गलत भएको थापाले स्पष्ट पार्नुभयो।
सभापति थापाले संसद् खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसद र जनतासामु जवाफ दिनुपर्ने भन्दै उहाँले अहिले संसद् खुला नरहेको टिप्पणी गर्नुभयो।
उहाँले बदलिँदो पुस्ता र समयको मागअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।


Comments are closed.