web analytics

मोबाइलमै बज्नेछ विपद्को अलर्ट, सरकारले थाल्यो नयाँ प्रविधिको परीक्षण

काठमाडौं । भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमबारे नागरिकलाई तत्काल सचेत गराउन सरकारले मोबाइलमा आधारित ‘सेल ब्रोडकास्ट’ प्रणालीको परीक्षण सुरु गरेको छ।

सरकारले सोमबार काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ उक्त प्रणालीको परीक्षण गर्न लागेको हो। परीक्षणका क्रममा केही मोबाइलमा आवाजसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण भइरहेको जनाएका छन्। परीक्षण सन्देश प्राप्त भए कुनै कदम चाल्न आवश्यक नरहेको मन्त्रालयहरूले स्पष्ट पारेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणालीको परीक्षण भइरहेको छ। ‘अहिले सीमित उपभोक्ताकोमा मात्रै यस्तो सन्देश प्रवाह हुनसक्छ। तर यो परीक्षणका लागि भएकाले कसैलाई पनि नआत्तिन भनेका छौँ,’ घिमिरेले बताएका छन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का अनुसार सेल ब्रोडकास्ट प्रणालीले निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आवाजसहित चेतावनी सन्देश पठाउन सक्छ। यस्तो सन्देश मोबाइलको स्क्रिनमा देखिनुका साथै आवाज र भाइब्रेसनमार्फत प्रयोगकर्ताको ध्यानाकर्षण गराउँछ।

यस प्रणालीबाट भूकम्प, बाढी, पहिरो तथा प्रतिकूल मौसमी अवस्थाका बेला जोखिममा रहेका क्षेत्रका नागरिकलाई तत्काल सचेत गराउन सकिन्छ।

यसअघि गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत सतर्कता सन्देश पठाएका थिए। तर, कतिपयले समयमै सन्देश नदेखेको भन्दै उक्त प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेपछि सरकारले विकल्पका रूपमा सेल ब्रोडकास्ट प्रविधिको परीक्षण अघि बढाएको हो।

नयाँ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आए विपद्का बेला समयमै सूचना पुर्‍याउन र सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.