भारतीय अभिनेता नाना पाटेकरको निधन, ४५ मिनेटसम्म सीपीआर दिँदा पनि बचाउन सकिएन
काठमाडौं, असोज २२ । भारतीय चलचित्रका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पाटेकरलाई गोवाको डोना पाउला क्षेत्रमा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि मणिपाल अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सक डा. शेखर साल्करका अनुसार उनलाई अस्पताल पुर्याएपछि करिब ४५ मिनेटसम्म लगातार कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तथा अन्य उपचार प्रयास गरिएको थियो। तर उनको अवस्थामा सुधार नआएपछि बिहान करिब ५:२० बजे मृत घोषणा गरिएको थियो।
रिपोर्टअनुसार पाटेकरले बिहान असहज महसुस भएको जानकारी एक साथीलाई दिएका थिए। त्यसपछि साथी उनको निवास पुगेका थिए। अवस्था गम्भीर देखिएपछि हेरचाहकर्ताले अस्पतालमा खबर गरेका थिए र एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकहरूले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरेका थिए।
पोस्टमार्टम गरिने
पाटेकर मणिपाल अस्पतालका नियमित बिरामी नभएकाले उनको मृत्युको घटनालाई मेडिको–लीगल केस (एमएलसी) का रूपमा दर्ता गरिएको चिकित्सकहरूले बताएका छन्। उनको शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेज तथा अस्पताल पठाइएको छ।
चिकित्सकहरूले प्रारम्भिक रूपमा कार्डियाक अरेस्टलाई मृत्युको सम्भावित कारण बताएका भए पनि मृत्युको ठ्याक्कै कारण पोस्टमार्टमपछि मात्र स्पष्ट हुने बताइएको छ।
पाँच दशक लामो चलचित्र यात्रा
सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा करिब पाँच दशक लामो यात्रा तय गरेका थिए। उनले सन् १९७८ मा ‘गमन’बाट हिन्दी चलचित्रमा प्रवेश गरेका थिए। त्यसपछि ‘अंकुश’, ‘परिन्दा’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘ट्याक्सी नम्बर ९२११’, ‘वेलकम’, ‘नटसम्राट’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गरे।
विशेषगरी गम्भीर, विद्रोही तथा जटिल चरित्रलाई आफ्नै विशिष्ट शैलीमा प्रस्तुत गर्ने अभिनेताका रूपमा उनको छुट्टै पहिचान बनेको थियो। ‘वेलकम’मा निभाएको उदय शेट्टीको हास्यप्रधान चरित्रले उनलाई नयाँ पुस्तामाझ समेत अत्यन्त लोकप्रिय बनाएको थियो।
पाटेकर अभिनेता मात्र नभई निर्देशक पनि थिए। उनले सन् १९९१ मा ‘प्रहारः द फाइनल अट्याक’ निर्देशन गरेका थिए। चलचित्रसँगै रंगमञ्चमा समेत उनको सक्रियता थियो।
राष्ट्रिय पुरस्कारदेखि पद्मश्रीसम्म
नाना पाटेकरले आफ्नो अभिनयका लागि तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए। भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा भारत सरकारको पद्मश्री सम्मान प्रदान गरिएको थियो।
चलचित्रबाहेक उनी सामाजिक कार्य तथा भारतीय सेनासँगको सम्बन्धका कारण पनि चर्चामा रहन्थे। उनलाई भारतीय प्रादेशिक सेनामा मानार्थ लेफ्टिनेन्ट कर्नेलको दर्जासमेत प्रदान गरिएको थियो।
निधनअघि पनि सार्वजनिक कार्यक्रममा सक्रिय
निधन हुनुभन्दा केही दिनअघि मात्र पाटेकर गोवाको डोना पाउलामा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। अक्टोबर ४ मा आयोजित कार्यक्रममा उनले रंगमञ्च तथा कलाका विषयमा लामो समय सम्बोधन गरेका थिए। उनको यो कार्यक्रम निधनअघि भएको अन्तिम सार्वजनिक उपस्थितिमध्ये एक बनेको छ।
पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रका कलाकार, निर्देशक तथा उनका सहकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। भारतीय चलचित्रका शक्तिशाली कलाकारका रूपमा स्थापित पाटेकरको निधनलाई धेरैले एउटा युगको अन्त्यका रूपमा लिएका छन्।
पाटेकरका पछिल्ला चलचित्रमध्ये ‘हाउसफुल ५’ समेत चर्चामा आएको थियो। उनले जीवनको उत्तरार्धसम्म पनि चलचित्र क्षेत्रमा काम जारी राखेका थिए।



Comments are closed.