धनगढीमा बालेन शाहको सम्बोधन : २० वर्षमा नबनेको बाटो डेढ वर्षमै बन्ने
कैलाली/६ फागुन
धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले विकास, सुशासन र सुदूरपश्चिमको समग्र रूपान्तरणका विषयमा धारणा राखेका छन्। सम्बोधनका क्रममा उनले विगत २० वर्षसम्म निर्माण हुन नसकेको बाटो डेढ वर्षमै बन्ने उल्लेख गर्दै काम गर्ने इच्छाशक्ति भए परिवर्तन सम्भव हुने बताए।
उनले आर्थिक अभावका कारण नागरिकले शिक्षा र स्वास्थ्य उपचार नपाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै राज्यले आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे। “रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो त बनाउनु पर्छ,” भन्दै उनले विकासप्रतिको प्रतिबद्धता प्रस्ट पारे।
बालेन शाहले आफू नेतृत्वमा रहँदा सबै दल—कांग्रेस, एमाले र माओवादीसमेत हिँड्न मिल्ने बाटो बनाइने दाबी गरे। उनले आफूहरू यहाँ भोट माग्न मात्र काम माग्न आएको स्पष्ट पारे।
सुदूरपश्चिमलाई ‘सु–निकट प्रदेश’ बनाउनुपर्ने उल्लेख गर्दै उनले काठमाडौँसँगको भौतिक मात्र होइन, मानसिक दूरी पनि घटाउनुपर्ने बताए। “काठमाडौँका चोकमा यहाँका गीत सुनिन थालेको दिन सुदूरपश्चिम साँच्चिकै जोडिन्छ,” उनको भनाइ थियो।
उनले स्विट्जरल्याण्डको बनाउने विगतका नेताको भनाइलाई व्यंग्य गर्दै यहाँ स्विजरल्याण्ड भन्दा सुन्दर बडिमालिका, रामारोशन र खप्तडजस्ता अपार पर्यटकीय सम्भावना नेपालमै रहेको उल्लेख गरे। “यी सबै सम्भावना हुँदाहुँदै पनि किन विकास नगर्ने?” भन्दै उनले प्राकृतिक स्रोतको सही उपयोगबाट समृद्धि सम्भव रहेको बताए।
अन्त्यमा बालेन शाहले भोट दिए पनि नदिए पनि काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याउँदै सुदूरपश्चिमको विकास यात्रामा सबैको साथ आवश्यक रहेको बताए।


Comments are closed.