अत्यधिक जाडोका कारण बेलौरी नगरपालिकाभित्रका विद्यालयमा दुई दिन विदा
कञ्चनपुर/१६ पुस
अत्यधिक जाडोका कारण बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरभित्र सञ्चालित सबै विद्यालयमा दुई दिन विदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, बेलौरी कञ्चनपुरले जारी गरेको सूचनाअनुसार हाल देखिएको मौसमी प्रतिकूलताका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यमा जोखिम बढ्न सक्ने देखिएकाले मिति २०८१ पुस १७ र १८ गते नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
सूचनामा चिसोका कारण विद्यालय नियमित रूपमा सञ्चालन गर्दा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले सम्बन्धित सबै विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई उक्त निर्णयको जानकारी गराइसकेको जनाएको छ।
यतिबेला तराईका विभिन्न जिल्लामा शीतलहर र बाक्लो कुहिरोका कारण जनजीवन प्रभावित भइरहेको छ। विशेषगरी बालबालिका र वृद्धवृद्धामा जाडोसँग सम्बन्धित स्वास्थ्य समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन्।


Comments are closed.