मंगलबारदेखि एक साताभन्दा बढी झरी पर्ने सम्भावना
काठमाडौ । आगामी मंगलबारदेखि नेपालका धेरै क्षेत्रमा एक साताभन्दा बढी समय वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्। बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
मौसम पूर्वानुमानका विभिन्न मोडेलले आगामी हप्ता वर्षाको संकेत देखाएको पोखरेलले बताएका छन्। उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।
यद्यपि, वर्षा हुने स्थान र पानी पर्ने मात्रा फरक–फरक देखिएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको उनले स्पष्ट पारेका छन्। मौसमको पूर्वानुमानमा अझै परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन उनले सुझाव दिएका छन्।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन उनले आग्रह गरेका छन्। सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि कटानी गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुने उनको भनाइ छ।
केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि रहेकाले कृषि उपजमा क्षति हुन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।
त्यस्तै, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। यात्रा वा ट्रेकिङमा रहेका तथा जाने तयारीमा रहेकाहरूलाई नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन पनि उनले सुझाव दिएका छन्।



Comments are closed.