web analytics

युवतीलाई गोप्य अङ्ग देखाएको आरोपमा सरकारी कर्मचारी पक्राउ

काठमाडौँ/२२ असार
ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीलाई सार्वजनिक स्थानमा गोप्य अङ्ग देखाएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।
घटना आइतबार साँझ करिब ६:३० बजे भएको प्रहरीले जनाएको छ। घटनापछि पीडित युवतीले आरोपितको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएपछि घटनाले व्यापक सार्वजनिक चासो पाएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्ने व्यक्ति बैतडीका सुरेन्द्र भट्ट हुन्। प्रारम्भिक अनुसन्धानबाट उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इमाडोलस्थित एक गल्लीमा युवती एक्लै हिँडिरहेको बेला भट्टले आफ्नो कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। त्यसलगत्तै युवतीले साहसका साथ आफ्नो मोबाइलबाट भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् र वरपरका मानिससँग सहयोग मागेकी थिइन्।
सार्वजनिक भएको भिडियोमा एक स्थानीय व्यक्तिले आरोपितलाई नियन्त्रणमा लिन सहयोग गरेको, पीडितले उनलाई माफी माग्न लगाएको तथा आरोपितले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेको दृश्य देखिन्छ।
पीडितको जाहेरीका आधारमा प्रहरी प्रभाग इमाडोलले आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेजसमेत सङ्कलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.