web analytics

पुनर्वासमा बालबालिकालाई सामाजिक विकृति र कुरीतिबाट जोगाउन अभिमुखीकरण

कञ्चनपुर/असार ९
पुनर्वासमा बालबालिकालाई सामाजिक विकृति र कुरीतिबाट जोगाउन अभिमुखीकरण तालीम दिईएको छ ।
पुनर्वास नगरपालिका–३ वडा कार्यालयको आयोजनामा बालबालिकालाई सामाजिक विकृति तथा कुरीतिबाट सचेत बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम पुनर्वास–३ स्थित वडा कार्यालयमा आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन पुनर्वास–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङले गर्नुभएको थियो। कार्यक्रममा

ईलाका प्रहरी कार्यालय पुनर्वासका ईञ्चार्ज  लोकेन्द्रसिंह कार्की, वडा सदस्य शान्तिमाया तामाङ,
महिला विकास निरीक्षक पार्वती भट्ट,
सामुदायिक सहजकर्ता शान्ति साउँद, शिक्षकद्वय सुनिलकुमार लो र महेश्वरी मल्लको उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय पुनर्वास ३ का कक्षा ९ र १० मा अध्ययनरत ४४ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा प्रशिक्षकका रूपमा इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज लोकेन्द्रसिंह कार्की सहभागी हुनुभएको थियो।
प्रशिक्षक कार्कीले विद्यार्थीहरूलाई लागुऔषध दुव्र्यसन, चेलीबेटी बेचबिखन, सवारी दुर्घटना तथा साइबर अपराध सम्बन्धी जानकारी दिनुभयो। उहाँले यस्ता सामाजिक समस्याले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा त्यससँग सम्बन्धित कानुनी व्यवस्थाबारे पनि विद्यार्थीलाई जानकारी गराउनुभएको थियो।
त्यसैगरी महिला विकास निरीक्षक पार्वती भट्टले २० वर्ष नपुगी विवाह गर्दा उत्पन्न हुने सामाजिक, आर्थिक तथा कानुनी समस्याहरूका बारेमा विद्यार्थीलाई सचेत गराउनुभयो। उहाँले बालअधिकार, बाल संरक्षण तथा बालबालिकाको जिम्मेवारीका विषयमा समेत विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सामाजिक विकृति र कुरीतिबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको तथा यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई सही मार्गतर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। आयोजक पुनर्वास नगरपालिका–३ वडा कार्यालयले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.