web analytics

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायको ३० लाख रुपैयाँ सहयोग

काठमाडौँ/असोज ६
हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको राष्ट्रिय बहाई समुदायले ३० लाख रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ।
बहाई राष्ट्रिय आध्यात्मिक सभा, नेपालका अध्यक्ष सोमनाथ रानाका अनुसार उक्त रकममध्ये १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ। राष्ट्रिय आध्यात्मिक सभाका पदाधिकारी तथा एसिया महाद्वीपका सल्लाहकार याम प्रसाद आचार्यको उपस्थितिमा उक्त रकम नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
बाँकी १५ लाख रुपैयाँ बराबरको राहत सामग्री तथा सहयोग बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन गरिने राष्ट्रिय बहाई समुदायले जनाएको छ। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको अवस्था र परिवारहरूको आवश्यकताका आधारमा उक्त सहयोग उपलब्ध गराइनेछ।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले विपद्को कठिन घडीमा विभिन्न धार्मिक तथा सामाजिक समुदायले स्वस्फूर्त रूपमा सरकार र प्रभावित नागरिकसँग हातेमालो गर्नु सामाजिक एकता तथा साझा उत्तरदायित्वको सकारात्मक उदाहरण भएको बताउनुभयो। उहाँले हालसम्म पाँचवटा धार्मिक समुदायले सरकारसँग समन्वय गरी सहयोग गरिसकेको उल्लेख गर्दै अन्य समुदायलाई पनि आफ्नो सामर्थ्यअनुसार राहत तथा पुनर्स्थापनाका कार्यमा सहभागी हुन आग्रह गर्नुभयो।
एसिया महाद्वीपका सल्लाहकार याम प्रसाद आचार्यले मानवजातिको सेवा नै ईश्वरप्रतिको भक्ति तथा उपासनाको अभिव्यक्ति हो भन्ने बहाई शिक्षाबाट प्रेरित भएर समुदायले समाजसेवामा निरन्तर योगदान गर्दै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “मानवजातिको सेवा नै ईश्वरको पूजा हो भन्ने भावनाले हामीलाई समाजको सेवामा समर्पित हुन प्रेरित गर्छ। हाम्रा विचार, आस्था र पृष्ठभूमि फरक हुन सक्छन्, तर हामी बस्ने समाज हामी सबैको साझा हो। त्यसैले समाजलाई अझ राम्रो, एकताबद्ध र समृद्ध बनाउने प्रयासमा हामी सबैको सहभागिता, पारस्परिक सहयोग र साझा उत्तरदायित्व आवश्यक छ।”
बहाई समुदायले जाति, धर्म, वर्ग वा अन्य कुनै पृष्ठभूमिका आधारमा भेदभाव नगरी मानव कल्याणका विभिन्न सेवामूलक गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ। बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै समुदायले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सामर्थ्यअनुसार योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
राष्ट्रिय बहाई समुदायले विपद्को सामना गर्न सरकार, स्थानीय तह, समुदाय, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीचको सहकार्य र सामाजिक एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.