web analytics

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

धनगढी/ १८ भाद्र ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।
गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको अवस्था सिर्जना हुँदा ठूलो जनधनको क्षति भएको तथा स्थानीय नागरिकको जनजीवन प्रभावित भएको भन्दै घेदुङले दुःख व्यक्त गरेको हो।
नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भीमलाल तामाङद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा बाढी तथा पहिरोमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
घेदुङले बाढी तथा पहिरोका कारण बेपत्ता भएका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेको छ। प्रभावित क्षेत्रमा फसेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा उद्धार गर्न तथा पीडित परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
त्यसैगरी, विपदबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि तत्काल आवश्यक कदम चाल्न नेपाल सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई घेदुङले जोडदार माग गरेको छ।
विपद्को यस दुःखद् घडीमा मानवीय सहयोगका लागि सक्रिय हुन नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुर जिल्लाका जिल्ला, स्थानीय तह तथा वडा तहका सम्पूर्ण कमिटीहरूलाई अपिल गरेको छ।
घेदुङले कैलाली र कञ्चनपुरका विभिन्न तहमा रहेका आफ्ना संगठनात्मक कमिटी तथा तामाङ समुदायका दाजुभाइ, दिदीबहिनी र आम समुदायलाई आफ्नो क्षेत्रबाट सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेको हो।
प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिन परिस्थितिमा रहेका नागरिकलाई तत्काल राहत र उद्धार आवश्यक रहेको भन्दै घेदुङले सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र आम नागरिकलाई समेत सहयोग तथा सहकार्यका लागि आह्वान गरेको छ।
विपद्को समयमा पीडित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै घेदुङले मानवीय सहयोगमा हातेमालो गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.