अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय विदा दिने निर्णय
कञ्चनपुर/२६ जेठ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन गर्मी विदा दिने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी सूचनाअनुसार हाल लगातार बढिरहेको गर्मी र उच्च तापक्रमका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै मिति २०८३ साल जेठ २७ र २८ गते गर्मी विदा दिने निर्णय गरिएको हो। उक्त विदा सञ्चित विदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको जनाइएको छ।
लामो समयदेखि वर्षा नहुँदा बेलौरी क्षेत्रसहित तराईका विभिन्न स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण विशेषगरी साना बालबालिकामा टाउको दुख्ने, शरीर कमजोर हुने, डिहाइड्रेसन, ज्वरो तथा अन्य स्वास्थ्य समस्या देखिन थालेपछि नगरपालिकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
बेलौरी नगरपालिकाले जारी गरेको पत्रमा विद्यालय व्यवस्थापन तथा सरोकारवालाहरूलाई निर्णयअनुसार बिदा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
स्थानीय अभिभावकहरूले बढ्दो गर्मीका बीच नगरपालिकाले समयमै निर्णय गरेको भन्दै स्वागत गरेका छन्। मौसमविद्हरूले पनि अत्यधिक गर्मीको समयमा पर्याप्त पानी पिउन, घाममा अनावश्यक रूपमा ननिस्किन तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका छन्।


Comments are closed.