कञ्चनपुर–१ मा युवाहरुको पहलमा ‘उज्यालो नेपाल पार्टी’को अभियान विस्तार
कञ्चनपुर/ १ माघ
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा युवाहरूको पहलमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ। “सक्षम नेतृत्व, पारदर्शी शासन र उज्यालो भविष्य” भन्ने मूल नारासहित अघि बढाइएको अभियान युवाहरूको संगठनात्मक सक्रियता र वैचारिक सहभागितासहित सञ्चालन हुने बताईएको छ ।
अभियानका आयोजकका अनुसार, यस पहलको केन्द्रमा कुलमान घिसिङले अघि सारेका सुशासन, जवाफदेहिता र परिणाममुखी कामका मूल्य–मान्यतालाई राजनीतिक अभियानमार्फत जनस्तरसम्म पुर्याउने उद्देश्य रहेको छ।
बुधबार पुनर्वास नगरपालिका–४ स्थित स्थानीय बिराज रेस्टुरेन्टमा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रममा रोजगारी, शिक्षा, ऊर्जा, स्वास्थ्य र स्थानीय विकासका विषयलाई प्राथमिकतामा राख्दै जनमत निर्माण गर्ने विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी युवाहरूले परम्परागत राजनीतिबाट असन्तुष्ट मतदातामाझ वैचारिक बहस र व्यावहारिक समाधान प्रस्तुत गर्ने लक्ष्य लिइएको बताएका छन्।
स्थानीय संयोजकहरूका अनुसार, इमानदार नेतृत्व र परिणाममुखी काममार्फत राजनीतिप्रति जनविश्वास पुनःस्थापित गर्नु अभियानको मुख्य उद्देश्य हो। कञ्चनपुरबाट सुरु भएको यो अभियानलाई सुदूरपश्चिमका अन्य जिल्लासम्म विस्तार गर्ने योजना रहेको उनीहरूले जानकारी दिए।
अभियान अन्तर्गत सामाजिक सञ्जाल, सार्वजनिक सभा, युवा संवाद तथा नागरिक फोरममार्फत पार्टीका नीति–कार्यक्रमको प्रचारप्रसार भइरहेको छ। साथै, आगामी दिनमा महिला, किसान, श्रमिक तथा विभिन्न पेशागत समूहसँग लक्षित संवाद कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुरु भएको युवाहरूको यस पहलले उज्यालो नेपाल पार्टीको संगठनलाई सुदूरपश्चिममा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Comments are closed.