सभापतिमा रवि र भावी प्रधानमन्त्रीमा बालेन हुने सहमति
काठमाडौं, पुस १३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच आज ‘महत्वपूर्ण ऐक्यबद्धता सहमति’ भएको छ । दुवै पक्षले नेपालको सामाजिक–राजनीतिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय स्वाभिमानका मुद्दालाई प्राथमिकता दिँदै मिलेर काम गर्ने घोषणा गरेका छन् ।
सहमति पत्रमा सामाजिक न्याय, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, आर्थिक–सामाजिक समानता र राजनीतिक प्रणाली सुधार जस्ता विषयमा संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमतिको ६ मुख्य बुँदाहरू
१) न्यायालयबाट प्रकट भएको भ्रष्टाचार तथा कुसासनविरुद्धका आत्मत्यागपूर्ण आन्दोलनलाई दुवै पक्षले समर्थन जनाउने।
२) समानता र न्यायमा आधारित राष्ट्रिय उद्देश्यलाई संस्थागत गर्न आवश्यक कानुनी, संरचनागत र संस्थागत सुधारमा सहकार्य गर्ने।
३) पहिलो पार्टी र दोस्रो पक्षबीचको ऐक्यबद्धता ल्याएर राष्ट्रिय स्वाभिमान, सुशासन र सुधारका एजेन्डालाई अघि बढाउने तथा विगतमा समग्र जनतामाझ प्रकट भएको विश्वासलाई संस्थागत गर्ने।
४) रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका लागि पार्टीको औपचारिक उम्मेदवार बनाउने उल्लेख गरिएको छ।
५) एकता प्रक्रियाबाट उत्पन्न संगठनात्मक शक्ति र युवाको भरोसालाई सकारात्मक परिवर्तनमा रूपान्तरण गर्दै दुवै पक्षले जिम्मेवारीपूर्वक, नैतिकतापूर्वक र सामाजिक छविलाई कायम राख्दै काम गर्ने।
६) कुनै विवाद वा अस्पष्टता उत्पन्न भएमा सहमति दस्तावेजको आधारमा रास्वपा जिम्मेवार रहने उल्लेख छ।
यस ऐक्यबद्धता सहमतिमा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।
दुवै नेताले यो सहमति नेपालको राजनीतिक सुधार, सुशासन तथा नागरिक अधिकार को पक्षमा नयाँ आशा र संयुक्त राजनीतिक शक्ति निर्माणको दिशा भएको बताएका छन्।



Comments are closed.