web analytics

सुदूरपश्चिमका चार जिल्लामा सवारी दुर्घटना, चार जनाको मृत्यु

धनगढी, १२ पुस
सुदूरपश्चिम प्रदेशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई जना तथा कञ्चनपुर र डडेल्धुरामा एक–एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिल्लरमा ठोक्किँदा चालक २५ वर्षीय अनिष भण्डारीको मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ४ प ६७६० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। उपचारका क्रममा उनको टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलपछाडि सवार १५ वर्षीय तुफान भण्डारी घाइते भएका छन्।
त्यस्तै, कैलालीकै बर्दगोरिया गाउँपालिका–१ र ४ को सीमानामा रहेको काँडा पुलमा से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा चालक घोडाघोडी नगरपालिका–११ का २४ वर्षीय विशाल कठरिया गम्भीर घाइते भएका थिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीया रीता कठरिया घाइते भएकी छन्।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–५ वनसमितिस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालक ४५ वर्षीय गड्डु विकको मृत्यु भएको छ। म १ त ९३१ नम्बरको ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। उनको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलपछाडि सवार ४० वर्षीय वीरराम पोखरेल घाइते भएका छन्। ट्याक्टर, चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।
उता, डडेल्धुराको आलिताल गाउँपालिका–४ जालिटुडास्थित बुडर–जोगबुढा सडकखण्डमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा परशुराम नगरपालिका–१० जोजला निवासी २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो। दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। दुर्घटनापछि अटो चालक फरार रहेकाले खोजी भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.