प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे दोस्रोपटक विश्वासको मत
काठमाडौं । गत पुस २६ मा संसद्बाट करिब ९८ प्रतिशत सांसदको विश्वास जितेर दुई वर्षका लागि ढुक्क बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई महिनामै सदनबाट पुनः विश्वासको मत लिनुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट नेपालको संविधानको धारा १०० को (२) बमोजिम विश्वासको मत प्राप्त गर्नुभयो । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
प्रचण्डका पक्षमा १ सय ७२ जना सांसदको मत प्राप्त भयो । यस्तै, ८९ सांसदले विपक्षमा मतदान गरे भने एक सांसद तटस्थ रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा भएको मतदानमा कुल २ सय ६२ सांसद उपस्थित थिए । अहिले संसद्मा कायम रहेका २७२ सांसदमध्ये १० अनुपस्थित रहेको बताइएको छ । उहाँलाई नेकपा एमाले र राप्रपाबाहेकका सबै संसद्वादी दलहरूले विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्री दाहालले अघिल्लोपटक संसद्को २ सय ६८ मत प्राप्त गर्नुभएको थियो । दाहालले राष्ट्रपतिको निर्वाचनमा दुई महिनाअघि बनाएको एमालेसँगको गठबन्धन भत्काए ९ हप्तामै पुनः दोस्रोपटक विश्वासको मत माग्न सदनमा प्रस्तुत भएपछि उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले मतदान गरे । रास्वपाले आगामी दिनमा सरकारमा जाने मनसायका साथ विश्वासको मत दिएको बताइएको छ । पुस १० मा वर्तमान प्रचण्ड नेतृत्वकै सरकारमा गएको डेढ महिना नपुग्दै उक्त दल गृह मन्त्रालय नपाएको झोंकमा सरकारबाट बाहिरिएको थियो ।
गत पुस १० मा सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा पुगेका प्रचण्डलाई एमाले र राप्रपाले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि पुनः विश्वासको मत माग्नुपरेको हो । आम निर्वाचनसम्म कामय रहेको कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धनमा कांग्रेस र माओवादीबीच को पहिलो प्रधानमन्त्री हुने भन्ने विषयमा कुरा नमिल्दा प्रचण्ड पुरानो गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाउँदै सरकारको नेतृत्वमा प्रवेश गर्नुभएको थियो ।
सरकार गठनको दुई हप्तामा संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतले दाहालको पक्षमा मतदान गरेपछि संसद् प्रतिपक्षविहीन जस्तै बन्न पुगेको थियो । तर, कांग्रेसले विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएको भन्दै प्रमुख प्रतिपक्षीदलको हैसियत प्राप्त गरेर २ महिना प्रतिपक्षी बेन्चमा रह्यो । सत्ताको खेलाडी मानिने कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँगको गठबन्धन फुटाएर एमालेसँग पुगेका प्रचण्डलाई विश्वासको मत दिएर बल्छी थाप्नुभएको थियो । उक्त बल्छीलाई तत्कालीन सत्ता गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेर माछा नपर्ने टिप्पणी गर्नुभएको थियो । केही समयमै उक्त ढोक्सामा माछा परेपछि केपी ओली चकित पर्नुभएको छ ।
विगत २ वर्षअघिबाट कांग्रेससहितको पाँच दलीय गठबन्धन बनाएर सरकार चलाएको र निर्वाचनमा समेत भागबण्डामै उम्मेदवारी दिएको पाँच दलीय गठबन्धन पाँच वर्ष टिक्ने बताए पनि चुनावपछिको सरकार निर्माणमा भत्किएर सात दलीय गठबन्धन बनेको थियो । उक्त गठबन्धन २ महिनामै टुटेपछि नेपालको राजनीतिमा नयाँ कोर्स शुरू भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको रटान लाइरहँदा नेकपा एमालेले त्यसको खिलापमा रहने निर्णय गरेर सोमबारको संसद् बैठकमा प्रतिपक्षी दलको सिटमा बसेको छ ।
एमालेसहितको सहयोगमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि प्रतिपक्षी बेन्चमा बस्दै आएको नेपाली कांग्रेस प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकदेखि सत्तापक्षमा पुगेको छ । राष्ट्रपति निर्वाचनमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहयोग गर्ने वातावरण बनाएसँगै एमाले सरकारबाट बाहिरिने र कांग्रेस सरकारमा भित्रिने अवस्था आएको थियो ।
सोमबार विश्वासको मत दिएका दलहरूमध्ये जनमोर्चाले सरकारमा नजाने बताएको छ । त्यस्तै, रास्वपालाई सरकारमा तत्काल अटाउन सक्ने अवस्था नरहेको गठबन्धनका नेताहरूले बताएका छन् । रास्वपालाई साविकको शक्ति बाँडफाँटअनुसारको जिम्मेवारी दिने कुरामा सरकार पक्षका दलहरू सकारात्मक नरहेको पाइएको छ ।



Comments are closed.