भारतको बनगाउँ बजारमा भीषण आगलागी, ५० भन्दा बढी पसल जलेर नष्ट
धनगढी। भारतको उत्तर प्रदेशस्थित लखीमपुर खिरी जिल्लाको गौरिफण्टा कोतवाली क्षेत्रअन्तर्गत पर्ने बनगाउँ मण्डी बजारमा लक्ष्मीपूजाको राति भीषण आगलागी हुँदा ५० भन्दा बढी पसल जलेर नष्ट भएका छन्। आगलागीबाट व्यापारीहरूको लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार (नोभेम्बर ८) दीपावली अर्थात् लक्ष्मीपूजाको राति बजारमा अचानक आगलागी भएको थियो। आगो तीव्र गतिमा फैलिँदै आसपासका पसलहरूमा समेत पुगेपछि बजार क्षेत्रमा ठूलो क्षति भएको हो। आगो फैलिँदै जाँदा व्यापारीहरूले पसलभित्र रहेका सामानसमेत निकाल्न नपाएको समाचारमा उल्लेख छ।
आगलागी नियन्त्रणका लागि भारतका लखीमपुर, गोला र निघासन क्षेत्रबाट दमकल परिचालन गरिएको थियो। आगलागीको भयावह अवस्था देखिएपछि नेपालबाट समेत सहयोग मागिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार भाजपा नेता रवि गुप्ताको अनुरोधपछि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले दुईवटा दमकल र एउटा जेसीबी घटनास्थल पठाएका थिए। नगर प्रहरी टोलीसमेत उद्धार तथा आगो नियन्त्रण कार्यमा खटिएको थियो।
धनगढी उपमहानगरपालिकाले दिएको विवरणअनुसार साँझ ६ः३० बजे घटनास्थलतर्फ गएको दमकल टोलीले तीनवटा दमकलमार्फत तीन–तीन पटक पानी भरेर आगो निभाउने काम गरेको थियो। जेसीबीको सहयोगमा फायर लाइन निर्माण गरी आगो थप फैलिन नदिन प्रयास गरिएको थियो।
नेपाली र भारतीय दमकल टोलीको संयुक्त प्रयासपछि राति १२ः३० बजे आगलागी नियन्त्रणमा आएको थियो। त्यसपछि धनगढी उपमहानगरपालिकाबाट खटिएका दमकल तथा उद्धार टोली नगरपालिकाको कार्यालय फर्किएका थिए।
भारतीय सञ्चारमाध्यमले आगलागीबाट ५० भन्दा बढी पसल जलेको र लाखौँ रुपैयाँ बराबरको सामान नष्ट भएको उल्लेख गरे पनि क्षतिको आधिकारिक मूल्यांकन सार्वजनिक भइसकेको छैन। त्यस्तै, आगलागीको वास्तविक कारणसमेत खुल्न सकेको छैन। दीपावलीका बेला बालिएको दियोबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक आशंका गरिए पनि यसको पुष्टि भएको छैन।



Comments are closed.