गर्मी बढेकाले भीममदत्तनगरका विद्यालय बिहान सञ्चालन हुने
कञ्चनपुर/२९ बैशाख
अत्यधिक गर्मी बढ्दै गएपछि भीमदत्त नगरपालिकाले नगरभित्रका विद्यालयहरूलाई बिहानको समयमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार हाल मौसममा अत्यधिक गर्मी बढेको, विद्यालयहरूको माग तथा स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिहान कक्षा सञ्चालन गर्न अनुरोध गरिएको हो।
सूचनामा २०८३ असार मसान्तसम्मका लागि विद्यालयहरूले बिहानको समयमा पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै विद्यालयले तोकिएको कार्यघण्टा पूरा हुने गरी समय तालिका व्यवस्थापन गर्नुपर्ने पनि जनाइएको छ।
नगरपालिकाका अनुसार विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो। पछिल्ला दिनहरूमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बिहान कक्षा सञ्चालनको व्यवस्था गरिएको बताइएको छ।


Comments are closed.