नेपाल तामाङ घेदुङको दशौं ऐतिहासिक संघीय महाधिवेशन काठमाडौंमा सुरु
काठमाडौं/ जेठ २
“तामाङ भाषा, धर्म संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हाम्रो अभियान, तामाङ पहिचान, प्रतिनिधित्व र एकताका लागि घेदुङको दशौं महाधिवेशन” भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङको दशौं ऐतिहासिक संघीय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
स्वयम्भूस्थित कार्यक्रमस्थलमा सुरु भएको महाधिवेशन जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। उद्घाटन सत्र बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङको अध्यक्षता रहेको थियो भने विभिन्न विशिष्ट अतिथि, अतिथिहरू तथा तामाङ समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरी पूर्व उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, रास्वपाका सांसद तथा अभियन्ता आशिका तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थितिले कार्यक्रममा थप आकर्षण थपेको थियोे । कार्यक्रममा शहीदहरूप्रति मौनधारण, राष्ट्रिय गान तथा सामूहिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा नेपाल तामाङ लामा घेदुङ, ताम्बा घेदुङ र बोनबो परम्परासँग सम्बन्धित संस्थाहरूको सहभागितामा साङ्सेरोगेम कार्यक्रम सम्पन्न गरिएको थियो। साथै नेपाल तामाङ संस्कृति घेदुङको संयोजनमा अन्तर्राष्ट्रिय तामाङ गीत, सेलो धुन तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
उद्घाटन समारोहमा अतिथिहरूले तामाङ समुदायको भाषा, धर्म, संस्कृति तथा पहिचान संरक्षणका लागि घेदुङले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त एकता र प्रतिनिधित्व आवश्यक रहेको बताएका थिए।
महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा तामाङ समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै समुदायका हकहित, भाषा, संस्कृति र पहिचान संरक्षणसम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम तय गर्ने अपेक्षा गरिएको छ।


Comments are closed.