पुनर्वासको ६५ बिघामा नेपाल आयल निगमको डिपो स्थापनाको विषय पुनः चर्चामा, प्रारम्भिक छलफल सुरु
कञ्चनपुर/ साउन ९
पुनर्वास नगरपालिका–स्थित ६५ बिघा क्षेत्रमा नेपाल आयल निगमको इन्धन डिपो स्थापना गर्ने विषय पुनः चर्चामा आएको छ। विगतमा स्थानीयवासीको कडा विरोधपछि रोकिएको यो प्रस्ताव फेरि उठेपछि व्यापक जनचासो बढेको छ ।
यसै विषयमा शुक्रबार पुनर्वास नगरपालिकामा प्रारम्भिक छलफल भएको बताइएको छ। छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जनकसिंह धामी, नेपाल आयल निगम धनगढीका प्रमुख तथा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा र कर्मचारीको उपस्थिति रहेको थियो।
पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले डिपो स्थापनाजस्तो संवेदनशील विषयमा सर्वपक्षीय सहमति भए मात्र नगरपालिकाले आवश्यक निर्णय लिन सक्ने स्पष्ट पार्नुभएको छ।
नगरपालिकाका कर्मचारी ओमनाथ ढकालले हाल भएको छलफल प्रारम्भिक चरणको मात्रै भएको बताउनुभयो । उहाँले सर्वपक्षीय सहमति र आवश्यक प्रक्रिया पूरा नभएसम्म नगरपालिकाले कुनै निर्णय नगर्ने बताउनुभयो।
यसअघि यही स्थानमा आयल निगमको डिपो स्थापना गर्ने प्रस्ताव आएपछि स्थानीयवासीले वातावरणीय, सामाजिक तथा अन्य सम्भावित प्रभावको विषय उठाउँदै कडा विरोध गरेका थिए। त्यसपछि यो विषय स्थगित भएको थियो। तर अहिले पुनः छलफल सुरु भएसँगै यस विषयमा व्यापक जनचासो र बहस सुरु भएको छ।


Comments are closed.