web analytics

पराजयपछि रेनु दाहालको लामो फेसबुक स्टाटस: “कामले मन जितेँ, तर मत जित्न सकिनँ”

चितवन । नेकपाकि उम्मेदवार रेनु दाहालले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि सामाजिक सञ्जाल फेसबुक मार्फत लामो सन्देश लेख्दै मतदातालाई धन्यवाद व्यक्त गरेकी छन्। रास्वपाकी उम्मेदवार सोविता गौतमसँग पराजित भएपछि उनले जनताको मतलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाईसमेत दिएकी छन्।
चितवन–३ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेकी दाहालले आफ्नो करिब ३० वर्ष लामो राजनीतिक यात्रामा जनताको सपना, आवश्यकता र चाहनालाई नै आफ्नो सपना ठानेर काम गरेको उल्लेख गरेकी छन्। उनले भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले जीवनको उर्जाशील नौ वर्ष समर्पित गरेको बताएकी छन्।
उनले आफ्नो सन्देशमा भरतपुर महानगरपालिकाको प्रमुखको रूपमा काम गर्दा जनताका पक्षमा राम्रो नीति–नियम नहुँदा विकासका कामहरू गर्न कठिनाइ भएको अनुभव व्यक्त गरेकी छन्। त्यही कारणले नीतिगत तहमा काम गर्न आवश्यक ठानेर नगर प्रमुखको कार्यकाल अझै १५ महिना बाँकी रहँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेको उनले उल्लेख गरेकी छन्।
दाहालले आफूले काममार्फत जनताको मन जित्न सफल भए पनि निर्वाचनमा मत जित्न नसकेको स्वीकार गर्दै विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिएकी छन्। उनले चितवनवासीले दिएको मत कहिल्यै खेर नजाने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि चितवनको विकास र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन्।
उनले “चुनावको सुनामीबीच पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति म ऋणी छु, तपाईंहरूको यो गुन कहिल्यै बिर्सने छैन,” भन्दै मतदाताप्रति आभार व्यक्त गरेकी छन्।
त्यस्तै चुनावी अभियानमा सक्रिय रूपमा खटिएका पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारहरूप्रति पनि उनले विशेष धन्यवाद दिएकी छन्। चितवनवासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमै रहने उनको भनाइ छ।
उक्त फेसबुक सन्देशमार्फत उनले चुनावी परिणामलाई स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति सम्मान प्रकट गरेकी छन्। चितवन–३ को चुनावी परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.