web analytics

दलीय राजनीतिबाट विदा लिँदै रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौं, २३ फागुन ।
रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। उनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन्।
मिश्रले आफ्नो निर्णय निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको उल्लेख गरेका छन्। देशभरि राजसंस्था पुनर्स्थापना का पक्षमा व्यापक जनमत भए पनि त्यसलाई सङ्गठित र पूँजीकृत गर्न पार्टी पटक–पटक असफल भएको भन्दै त्यसका लागि आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन्।
विज्ञप्तिमा उनले विचारभन्दा माथि देश रहेको उल्लेख गर्दै बदलिँदो भूराजनीति र कमजोर बन्दै गएको आन्तरिक अवस्थाबीच भावी पुस्ताका लागि देश बचाउन र बनाउन नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
मिश्रले दुई निर्णय सार्वजनिक गरेका छन्। पहिलो, आजकै मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिने र दोस्रो, राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने र अब केही समय गैरदलीय अर्थात् स्वतन्त्र रूपमा आफ्ना विचार सार्वजनिक गर्दै जाने।
करिब ९ वर्षको राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले त्यसलाई अझ पर्याप्त बनाउन नसकिएको स्वीकार गरेका छन्। साथै उनले ‘देशभन्दा माथि स्वार्थ’ राख्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मिश्रले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना दिएका छन्। साथै नेपाली राजनीति एकोहोरो दिशामा नदौडियोस् भन्ने कामना समेत गरेका छन्।
उनले देश–विदेशमा रहेका नेपाली तथा राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै “नेपालको जय होस्” भन्दै आफ्नो वक्तव्य टुङ्ग्याएका छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.