कञ्चनपुर–१ मा प्रलोपा उम्मेदवार शाहीसहित ५४ नेता–कार्यकर्ता नेकपामा समाहित
कञ्चनपुर, १३ फागुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आँखा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रत्यक्ष तर्फका उम्मेदवार देपेन्द्र बहादुर शाहीसहित ५४ जना नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन्। बुधबार आयोजित एक कार्यक्रममार्फत उनीहरूले नेकपाको तारा चुनाव चिन्हलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्टसहित क्षेत्रका नेताहरूले पनि नेकपामा प्रवेश गरेका छन्। केही दिनअघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले निर्वाचन नजिकिँदै जाँदा वाम शक्तिहरूबीच एकता आवश्यक ठानेर नेकपामा समायोजन भएको बताएका छन्।
कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ की नेकपा उम्मेदवार बीना मगर ले नवप्रवेशी नेता–कार्यकर्तालाई स्वागत गर्दै राजनीतिक एकताले क्षेत्रको विकास र समृद्धिमा सकारात्मक सन्देश जाने बताउनुभयो। उहाँले साझा लक्ष्यका साथ अघि बढ्दै निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रलोपा त्यागेका उम्मेदवार शाहीले “आफ्नो मत विभाजन गरेर खेर फाल्नु उपयुक्त नहुने” उल्लेख गर्दै आफ्ना समर्थकलाई नेकपाको तारा चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो। जिल्ला प्रमुख विष्टले वर्तमान राजनीतिक परिवेशमा देशको हित र वाम एकताका लागि नेकपाको विकल्प नभएको दाबी गर्नुभयो।
नेकपा केन्द्रीय सदस्य जीवनराज थापाले चुनावको मिति नजिकिँदै जाँदा विभिन्न तहका नेताहरू नेकपामा समाहित हुनु सकारात्मक संकेत भएको बताए। कार्यक्रममा नेकपा नेताहरू देवीलाल चौधरी, भक्तबहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जीवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेकबहादुर विक र बिरमान थापालगायतले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए।
त्यसैगरी मितेरी पार्टी नेपालका निर्वाचन क्षेत्र नं.१ उम्मेदवार कमरेड सियाराम राना पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित समावेश भएका छन । उनले बीना मगर नै याे क्षेत्रकाे समग्र विकाशका लागि याेग्य उम्मेदवार भएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई जिताउने प्रतिबद्धता गर्दै सबैलाई तारा चिन्हमा भोट हाल्न सबैलाई आग्रह गर्नुभएको छ ।
समाहित भएका नेता–कार्यकर्ताले उम्मेदवार बीना मगरलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा खटिने प्रतिबद्धता जनाएका छन्।



Comments are closed.