कञ्चनपुर–१ का रास्वपा सभापति जनक चौधरीमाथि स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा दुर्व्यवहारको आरोप
कञ्चनपुर/फागुन १०
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति जनक चौधरीमाथि स्वतन्त्र उम्मेदवार यादव सिंहले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
स्वतन्त्र उम्मेदवार यादव सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा उक्त आरोप राखेका हुन्। उनले आफ्नो घरदैलो अभियानका क्रममा पुनर्वास नगरपालिका–६ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा आज दिउँसो करिब १:०० बजे आफूलाई दुर्व्यवहार गरिएको बताएका छन्।
यादव सिंहका अनुसार उनी निर्वाचन चिन्ह ‘झोला’ लिएर एक्लै मतदाता भेटघाटमा हिँडिरहेको अवस्थामा जनक चौधरी आफ्नो टोलीसहित त्यहाँ पुगेका थिए। त्यस क्रममा आफूलाई हेप्ने, थर्काउने तथा “तँ अगाडि जा” जस्ता अपमानजनक शब्द प्रयोग गरिएको उनले उल्लेख गरेका छन्। उनले उक्त व्यवहारलाई निर्वाचन आचारसंहिता विपरीत र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कार्य भएको बताएका छन्।
यादव सिंह कञ्चनपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। उनले निष्पक्ष र मर्यादित निर्वाचन वातावरणको माग गर्दै सम्बन्धित निकायले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने बताएका छन्।
उक्त घटनाबारे रास्वपा सभापति जनक चौधरीको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।


Comments are closed.