त्रिशूली नदीमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
काठमाडौं, ११ फागुन ।
धादिङमा गएराति भएको बस दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस राति करिब साढे १ बजे बेनिघाट रोराङ्ग गाउँपालिका–५स्थित भैंसिगौडामा पृथ्वी लोकमार्गबाट तल खस्दा दुर्घटना भएको हो। बस त्रिशूली नदी किनारमा पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेनाको टोलीसमेत उद्धारमा खटिएको थियो।
प्रहरीका अनुसार १७ जनाको शव घटनास्थलमै फेला परेको छ। मध्यरातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।
घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको शैलेन्द्र थापाले जानकारी दिएका छन्। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Comments are closed.