कुलमान घिसिङ चुनावी दौडाहामा, ८ फागुनमा पुनर्वास आउँदै
कञ्चनपुर/ ६ फागुन
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फागुन ८ गते पुनर्वास आउने भएका छन्। पुनर्वासको आईबिआरडी बजारमा आयोजना हुने चुनावी सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कञ्चनपुर जिल्ला क्षेत्रनम्बर १ का उम्मेदवार माईकल तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी दिँदै अध्यक्ष घिसिङको चुनावी दौडाहाअन्तर्गत पुनर्वासमा चुनावी आमसभा आयोजना गरिएको बताए।
सार्वजनिक गरिएको तालिकाअनुसार घिसिङ फागुन ८ गते बिहान काठमाडौँबाट धनगढी प्रस्थान गर्नेछन्। त्यसपछि कञ्चनपुर क्षेत्रनम्बर १ मा आमसभा सम्पन्न गरी साँझ क्षेत्रनम्बर ३ तर्फ जाने कार्यक्रम छ। फागुन ९ गते कञ्चनपुरमै “उज्यालो संकल्प” र्याली तथा आमसभा राखिएको छ भने सोही दिन कैलाली, बर्दिया र कोहलपुर/नेपालगञ्जमा समेत आमसभा गर्ने कार्यसूची रहेको छ।
फागुन १० गते भैरहवा, रुपन्देही र नवलपरासीमा कार्यक्रम तय गरिएको छ। त्यसपछि विराटनगर, धरान, इटहरी, फिदिम लगायत पूर्वी जिल्लाहरूमा आमसभा गर्ने तालिका सार्वजनिक गरिएको छ। फागुन १३ र १४ गते काभ्रे, मन्थली, मकवानपुर, रौतहट, सर्लाही, नुवाकोट, रसुवा हुँदै १६ फागुनमा काठमाडौँमा आमसभा गरी चुनावी दौडाहा समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


Comments are closed.