आज मध्यरातदेखि देशभर निर्वाचन आचारसंहिता लागू
काठमाडौँ/४ माघ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज मध्यरातदेखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यसहित आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले प्रदान गरेको अधिकार प्रयोग गरी भयमुक्त निर्वाचन वातावरण सुनिश्चित गर्न आचारसंहिता लागू गरिएको हो।
आचारसंहिता लागू भएसँगै सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूले आयोगले निर्धारण गरेका नियम र सीमाहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। आचारसंहिताका प्रावधानहरूबारे स्पष्ट जानकारी दिन आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य तथा उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई लक्षित गरी विस्तृत ब्रिफिङ कार्यक्रमसमेत तय गरिएको छ।


Comments are closed.