प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्तामा धरौटी रकम तोकियो
काठमाडौं/ ४ माघ
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी उम्मेदवारी दर्तामा लाग्ने धरौटी रकम तोकेको छ । आयोगले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको हो।
आयोगका अनुसार उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी रकम जम्मा गरेको रसिद वा भौचर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यो नियम प्रतिनिधिसभा सदस्य निर्वाचनका सबै उम्मेदवारमा समान रूपमा लागू हुनेछ।
यद्यपि, महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा कमजोर उम्मेदवारलाई धरौटी रकममा सहुलियत दिइएको छ। यस्ता उम्मेदवारले ५० प्रतिशत छुटसहित पाँच हजार रुपैयाँ मात्र बुझाए पुग्ने आयोगले जनाएको छ।
आर्थिक रूपमा विपन्न उम्मेदवारले भने आफ्नो अवस्था पुष्टि गर्न सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।


Comments are closed.