पुनर्वासमा क्यान्सर पीडितलाई आर्थिक सहयोग
कञ्चनपुर/२४ पुस।
पुनर्वास नगरपालिका वडा नम्बर २, दशरथ बस्ती निवासी नवीन लामाको श्रीमती कान्छी माया ब्लोन (लामा) लाई बुुधबार आर्थिक सहयोग प्रदान गरिएको छ। विगत केही समयदेखि स्तन क्यान्सरबाट पीडित रहँदै आएकी कान्छीमाया हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ।
नव युवा बाख्रापालन कृषक समूहका सदस्यहरूले क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्यले आपसमा आर्थिक सहयोग संकलन गरी कुल ३९ हजार ६१० रुपैयाँ संकलन गरेका हुन्। संकलित रकम बुधबार कान्छी माया ब्लोनको निवासमै पुगेर उनका श्रीमान् नवीन लामा ज्यूलाई हस्तान्तरण गरिएको हो।
समूहका सदस्यहरूले उपचार खर्चको भार केही हदसम्म कम गर्न सहयोग जुटाइएको बताउँदै आगामी दिनमा समेत आवश्यक परे थप सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयस्तरबाट मानवीय सहयोगको यो पहलले सामाजिक एकता र सहानुभूतिको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूको भनाइ छ।



Comments are closed.