पुनर्वास नगरपालिकामा आज एक दिन शोक बिदा, सबै सरकारी कार्यालय र विद्यालय बन्द
कञ्चनपुर/२७ कार्तिक ।
पुनर्वास नगरपालिकाले अ.न.मी. शान्ती तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज शुक्रबार एक दिनका लागि शोक बिदा दिएको छ।
पुनर्वास नगरपालिका–१ स्थित कालिका स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. तामाङको उपचारका क्रममा २०८३ कार्तिक २० गते निधन भएको थियो। उनको निधनले नगरपालिका परिवारलाई स्तब्ध र मर्माहत बनाएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।
नगर प्रमुख तोयप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार २०८३ कार्तिक २७ गते शुक्रबार नगरपालिका कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक र संस्थागत विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको हो।
नगरपालिकाले स्वर्गीय तामाङले स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
शोक बिदाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमासमेत मागेको छ।



Comments are closed.