पुनर्वासमा सरकारी निर्देशनको अवज्ञा गर्दै विद्यालयहरुद्वारा शुल्क असुली
कञ्चनपुर/१३ जेठ ।
पुनर्वास नगरपालिका क्षेत्रमा रहेका धेरै सामुदायिक विद्यालयले भर्ना शुल्क तथा मासिक पढाइ शुल्कका नाममा रकम असुलिरहेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन्। सरकारी नीति अनुसार सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा व्यवस्था भए पनि विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क उठाइरहेको आरोप लगाइएको छ ।
अभिभावकहरूका अनुसार “निःशुल्क शिक्षा” भन्ने सरकारी प्रचारका आधारमा आफ्ना बालबालिकालाई विद्यालय पुर्याउँदा विद्यालय प्रशासनले भर्ना शुल्क, मासिक शुल्क तथा अन्य शीर्षकमा रकम तिर्न दबाब दिने गरेको छ। कतिपय विद्यालयले शुल्क नतिरेसम्म भर्ना प्रक्रिया नै अगाडि नबढाउने गरेको गुनासो समेत आएको छ।
यता, निजी विद्यालयहरूले पनि सरकारले जारी गरेको निर्देशिका विपरीत “एन्युल फी” लगायतका नाममा चर्को शुल्क असुलिरहेको अभिभावकहरूको आरोप छ। सरकारले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थी माथिल्लो कक्षामा जाँदा पुनः भर्ना शुल्क नलिन तथा विद्यालयभित्र किताब र स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको भए पनि व्यवहारमा त्यसको पालना नभएको बताइएको छ। अभिभावकहरूका अनुसार कतिपय विद्यालयले आफ्नै विद्यालयबाट किताब, कपी तथा स्टेशनरी सामग्री किन्न बाध्य बनाइरहेका छन्।
यस विषयमा पुनर्वास नगरपालिकाको शिक्षा शाखा को भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। शिक्षा शाखाले केही समयअघि “सामुदायिक विद्यालयमा शुल्क नलिनु” भन्ने सूचना जारी गरे पनि त्यसको प्रभावकारी अनुगमन र कार्यान्वयन हुन नसकेको स्थानीयहरूको भनाइ छ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले शिक्षामा बढ्दो व्यापारीकरण र आर्थिक शोषण रोक्न नगरपालिका गम्भीर बन्नुपर्ने माग गरेका छन्। विद्यालयहरूले सरकारी नियमको उल्लंघन गर्दै शुल्क असुली गरिरहँदा अनुगमन तथा कारबाही प्रक्रिया सुरु नभएकाले नगरपालिकाको भूमिका माथी सर्वसाधारणले प्रश्न उठाउन थालेका छन ।


Comments are closed.