पहिले साथ, पछि लात : विदेशको सपनामा हराउँदै नेपाली सम्बन्ध
बुटवलको एउटा कलेजमा पढ्दाका दिन थिए। त्यही समय सबिन र प्रविनाबीच प्रेम बस्यो। युवावस्थाको जोश, भविष्यका मीठा सपना र एकअर्काप्रतिको भरोसाले उनीहरूको सम्बन्ध चाँडै गहिरियो। आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिनले सम्बन्धलाई लुकाएर राखेनन्। उनले चाँडै परिवारलाई जानकारी गराए।
प्रविनालाई परिवारसँग चिनजान गराउन सबिनले गुल्मीबाट बुबाआमालाई पाल्पा बोलाए। बुटवलबाट प्रविनालाई लिएर उनी पाल्पा पुगे। तानसेनको एउटा शान्त कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो। प्रविनाले केही वर्षपछि विवाह गर्ने योजना सुनाइन्। सबिनका बुबाआमालाई त्यो भेटले ढुक्क बनायो।
२०६७ सालदेखि सुरु भएको प्रेम सम्बन्धले केवल सबिन र प्रविनालाई मात्र होइन, दुवैका परिवारलाई पनि नजिक ल्यायो। झन्डै पाँच वर्ष डेटमा रमाएका उनीहरू काठमाडौं, पोखरा, लुम्बिनी, चितवनलगायत विभिन्न ठाउँमा हप्तौं लामो यात्रामा निस्कन्थे। परिवारको कुनै चिन्ता थिएन, समाजको डर पनि थिएन।
त्यहीबीच प्रविनाले सबिनसमक्ष एउटा प्रस्ताव राखिन्—
‘अमेरिका जाने अनि उतै बस्ने।’
सबिनले यसलाई आफ्नो र सम्बन्धको भविष्यसँग जोडे। उनले काठमाडौंमा आईएलटिएस गराए। दुई वर्षको प्रयासपछि प्रविनाको अमेरिकाको भिसा लाग्यो। सबिन ढुक्क थिए, किनकि उनी आफ्नै लगानीमा प्रेमिकालाई विदेश पठाउँदै थिए। विदेश जाने क्रममा प्रविना एक्लै नहोउन् भनेर उनले विभिन्न एजुकेसन कन्सल्टेन्सी धाउँदै साथीसँगै पठाउने प्रयास गरे। अन्ततः प्रविनाभन्दा झन्डै चार वर्ष कान्छा एक युवक भेटिए। सँगै टिकट काट्ने निर्णय भयो।
विदेश उड्नुअघि उनीहरूले एउटा मन्दिरमा गोप्य रूपमा विवाह गरे। बिदाइको बेला परिवारले प्रविनालाई सम्झाए—
‘केटा मान्छेको भर हुँदैन, आफूभन्दा सानो छ भन्दैमा धेरै विश्वास नगर्नू। भविष्यमा ध्यान दिनू। सबिन आएपछि तिमीहरू सँगै भइहाल्छौ।’
झन्डै १५ लाख रुपैयाँ खर्च गरेर सबिनले प्रविनालाई अमेरिका पठाए।
वासिङ्टन पुगेपछि सुरुवाती दिनहरू सामान्य थिए। प्रविना र सबिनबीच दिनरात कुराकानी हुन्थ्यो। तर समय बित्दै जाँदा प्रविना बिस्तारै टाढिँदै गइन्। फोन उठ्न छोड्यो, म्यासेज छोटा हुँदै गए।
चिन्तित सबिनले कारण खोज्न थाले। कलेजमा फोन गरे, सँगै गएको युवकसँग सम्पर्क गरे। उनले ‘जन्डिस भएर अस्पतालमा हुनुहुन्छ’ भन्दै टारिदिए। परिवारसँग सोध्दा पनि खासै कुरा खुल्न सकेन।
खोज्दै जाँदा अन्ततः सियाटलमा बस्ने एक नेपाली दाइ भेटिए। उनीबाट सबिनले चकित पार्ने सत्य थाहा पाए।
‘प्रविना त झन्डै एक वर्षदेखि त्यही युवकसँग लिभिङ टुगेदरमा बसिरहेकी छिन्,’ ती दाइले भने।
प्रविना अमेरिका पुगेको सात दिनमै ती युवकलाई आफ्नो कोठामा बोलाएर सँगै बस्न थालेकी थिइन्।
सबिनको कथा एक्लो होइन।
कपिलवस्तुका सुदीप बेल्वासेले पनि प्रेमिकाको अमेरिका पढ्ने भिसा लागेपछि काठमाडौंमा साथीभाइ बोलाएर भव्य पार्टी दिए। केही दिनपछि आफ्नै खर्चमा प्रेमिकालाई अमेरिका पठाए। झन्डै पाँच महिना उनीहरूबीच दिनरात कुराकानी भयो। त्यसपछि भने सम्बन्ध टाढिँदै गयो।
खोज्दै जाँदा सुदीपले थाहा पाए—प्रेमिका अर्कैसँग लिभिङ टुगेदरमा थिइन्। यो सत्यले उनलाई गहिरो डिप्रेसनमा धकेल्यो। झन्डै एक वर्ष औषधि सेवनपछि उनी अहिले सामान्य अवस्थामा फर्किएका छन्।
‘त्यत्रो खर्च गरियो, पैसा पनि गयो, अन्त्यमा पीडा मात्रै बाँकी रह्यो,’ उनी भन्छन्।
यी घटनाहरू अपवाद मात्र होइनन्। विदेश पुग्ने नेपाली युवायुवतीबीच लिभिङ टुगेदरको चलन तीव्र रूपमा बढ्दै गएको छ। अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, हङकङलगायत देशमा खर्च बचत, कोठा सेयर र एक्लोपन हटाउने नाममा नेपालीहरू लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ।
बेलायतमा बस्दै आएका म्युजिक भिडियो निर्देशक कुशल श्रेष्ठ भन्छन्,
‘यहाँ यो सामान्य संस्कृतिजस्तै बनिसकेको छ। सुरुमा विवाह गर्ने वाचा गर्छन्, तर अधिकांश सम्बन्ध टिक्दैनन्।’
अमेरिकामा अध्ययनरत शिशिर अधिकारीका अनुसार संघर्षका बेला साथ खोज्ने र पछि अलिकति व्यवस्थित भएपछि एकअर्कालाई छोड्ने प्रवृत्ति मौलाएको छ।
‘यो माया भन्दा बढी आवश्यकता पूरा गर्ने सम्बन्ध हो,’ उनी भन्छन्।
जापान, अस्ट्रेलिया र हङकङमा रहेका नेपालीहरू पनि यस्तै अनुभव सुनाउँछन्। कतिपय विद्यार्थी लिभिङ टुगेदरको झमेलामा परेर पढाइ छोड्न बाध्य भएका छन्। ऋण तिर्न नसक्दा मानसिक तनाव बढेको छ। केही घटनामा आत्महत्यासमेत भएको सुनिन्छ।
लिभिङ टुगेदर सुरुमा सजिलो देखिए पनि पछि यसको मूल्य धेरै भारी पर्छ। खर्च बाँड्ने क्रममा विवाद बढ्छ। स–साना कुराले सम्बन्ध चर्किन्छ। अन्ततः न पैसा जोगिन्छ, न सम्बन्ध टिक्छ।
अस्ट्रेलियामा बस्ने कमल खड्का भन्छन्,
‘एकैछिनको आवेशमा सँगै बस्ने निर्णय हुन्छ, तर अन्त्यमा दुवै जनाले हार्छन्।’
यो फिचर कुनै व्यक्ति वा संस्कृतिको विरोध होइन।
यो चेतावनी हो—भावनामा बगेर गरिएको अन्धो निर्णयविरुद्ध।
विदेश अवसर हो, तर परीक्षा पनि।
प्रेम सुन्दर भावना हो, तर जिम्मेवारी पनि।
नत्र, धेरै सबिन र सुदीपहरू
आज पनि
विदेशको सपनामा
पैसा गुमाएर, न जीवनसाथी गुमाएर
एक्लै बाँचेका छन्।
साप्ताहिकबाट ।


Comments are closed.