web analytics

झोलामा किताब मात्र होइन, सपना पनि दिए ‘झोले’ ले

लोकप्रिय टिकटक स्टार लोकेश पाल ठकुरीको मानवीय पहल

कञ्चनपुर। सुदूरपश्चिमका चर्चित टिकटक स्टार लोकेश पाल ठकुरी (झोले) ले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला सहयोग गरेपछि सामाजिक सञ्जालमा फेसबुकमा भावुक सन्देश लेखेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित श्री विजय माध्यमिक विद्यालयको ५४औँ वार्षिकोत्सवको अवसरमा ठकुरीले २० जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय झोला सहयोग गरेका हुन्। सहयोगपछि उनले लेखेको फेसबुक स्टाटसले धेरैको मन छोएको छ।
आफूले सानै उमेरमा कक्षा १ देखि १० सम्म झोला बोकेको स्पष्ट सम्झना नभएको उल्लेख गर्दै ठकुरीले आज त्यही झोलाकै कारण आफू ‘झोले’ भनेर चिनिएको बताएका छन्। सामाजिक सञ्जालमा कहिलेकाहीँ आलोचना र व्यङ्ग्यको पात्र बन्नुपरे पनि, आज त्यही नाम बालबालिकाको अनुहारमा मुस्कान ल्याउने माध्यम बनेकोमा उनले खुशी व्यक्त गरेका छन्।
“यी झोलाहरू केवल सामान राख्ने झोला होइनन्, यी भित्र सपना छन्, आशा छन्, भोलिको भविष्य छ,” भन्दै उनले सानो भए पनि मनदेखि गरिएको सहयोग भएको उल्लेख गरेका छन्।
सहयोग कार्यक्रममा सहभागी अभिभावक तथा विद्यालय परिवारले ठकुरीको पहलको प्रशंसा गर्दै यस्ता कार्यले विद्यार्थीहरूलाई पढाइमा निरन्तरता दिन ठूलो हौसला मिल्ने बताएका छन्।
सामाजिक सञ्जालमा लोकप्रियता कमाएको मात्र होइन, त्यसलाई समाज सेवामा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरेका ठकुरीले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गरिबी र अभावका कारण कुनै पनि बालबालिकाको पढाइ नरोकिनोस् भन्ने कामनासहित सहयोग गरिएको ठकुरीले फेसबुक मार्फत जानकारी गराएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.