सिन्धुलीस्थित एसबीआई बैंकमा ३ करोडभन्दा बढी लुटपाट, १ करोड ८० लाख जंगलमा फेला
काठमाडौँ / ३० पुस ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा अज्ञात समूहले गएराति लुटपाट गरेको छ।
घ्याङलेख गाउँपालिका–२ मा रहेको बैंकमा करिब सात जनाको नकाबधारी समूह प्रवेश गरी सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई बाँधेर पेस्तोल देखाउँदै ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर फरार भएको हो।
लुटिएको रकममध्ये स्थानीयको सहयोगमा १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार घटनाका क्रममा सुरक्षागार्ड कार्की घाइते भएका छन्।
हालसम्म लुटपाटमा संलग्न कोही पनि पक्राउ नपरेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरी जनाएको छ। लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको ०३९८ नम्बरको टाटा सुमो जीप प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त गाडीका चालक भवत सिंह थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।


Comments are closed.