सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गर्ने क्रम जारी,
काठमाडौँ/ ३० पुस ।
नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि उकालो यात्रा जारी राखेको छ। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि मंगलबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त दिन प्रतितोला सुन दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डको तुलनामा प्रतितोला एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बुधबार हालसम्मकै उच्च स्तरमा पुगेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। आज सुन प्रतिऔंस चार हजार ६ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Comments are closed.