गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा
काठमाडौँ/ गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो “शेयर” लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।
फेसबुकमा लामो स्टाटस राख्दै उनले यो कुरा स्पष्ट पारेका छन्।
गुरुङले सार्वजनिक जीवनमा नैतिकता र जनविश्वासलाई सर्वोपरि ठान्दै निष्पक्ष छानबिनको वातावरण बनाउन र पदमा रहँदा कुनै पनि प्रकारको “conflict of interest” नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी दिएका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाज—विशेषगरी Gen Z आन्दोलन—ले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरे। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्।
गुरुङले ४६ जना सहिदहरूको बलिदानीबाट बनेको सरकारप्रति उत्तरदायित्व झन् गम्भीर हुने भन्दै त्यसमा उठेका प्रश्नहरूको जवाफ नैतिक आचरणबाट दिनुपर्ने बताएका छन्।
राजीनामापछि उनले सञ्चारकर्मी, सर्वसाधारण र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै परिवर्तनका लागि सबै पक्षले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन्। साथै केही सञ्चारकर्मीहरूसमेत विभिन्न स्वार्थसँग जोडिएको विषय क्रमशः बाहिर आउने दाबी उनले गरेका छन्।


Comments are closed.