web analytics

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि उल्लेखनीय वृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाइएको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ दरअनुसार काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल २०७ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ र आन्तरिक हवाई इन्धन २५७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेकाले नेपालमा पनि मूल्य समायोजन गर्न बाध्य हुनुपरेको हो। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि निगमको घाटा घट्न नसकेपछि मूल्य वृद्धि गरिएको जनाइएको छ।
मूल्य वृद्धि गरेपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिबाट उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.