बेलौरीमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाको आमरण अनशन
कञ्चनपुर/माघ २१
बेलौरी नगरपालिकामा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको विरोधमा एक युवाले आमरण अनशन सुरु गरेका छन्। बेलौरी नगरपालिका–स्थित भिमदत्त चोक (पिपल चौतारा) मा मंगलबारदेखि स्थानीय युवा केशव कुमार बोहरा विभिन्न मागहरू अघि सार्दै शान्तिपूर्ण आमरण अनशनमा बसेका हुन्।
अनशनकारी बोहराले बेलौरी नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, बजार व्यवस्थापन, सार्वजनिक निर्माण, सरसफाइ तथा कर्मचारी नियुक्तिमा गम्भीर अनियमितता र अपारदर्शिता रहेको आरोप लगाएका छन्। संविधानले प्रत्याभूत गरेको सूचनाको हक (धारा २७) समेत पटक–पटक हनन भएको भन्दै स्थानीय तहबाट कुनै सुनुवाइ नभएपछि बाध्य भएर आमरण अनशनको बाटो रोज्नुपरेको उनको भनाइ छ।
प्रधानमन्त्री तथा गृहमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमार्फत उनले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै १३ बुँदे माग अघि सारेका छन्। उनका मुख्य मागहरूमा शिक्षा क्षेत्रमा बजेट, दिवा खाजा र नियुक्तिमा भएको भ्रष्टाचारको छानबिन, नगर अस्पताल तथा स्वास्थ्य चौकीमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने, खानेपानी आयोजनामा भएको अनियमितताको छानबिन, किसानका नाममा आएको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने लगायत रहेका छन्।
त्यसैगरी खेलकुद बजेटको दुरुपयोग रोक्दै युवामैत्री कार्यक्रम सञ्चालन, बजारमा कालोबजारी र म्याद गुज्रेका वस्तु बिक्री नियन्त्रण, १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री पूर्ण रूपमा निषेध गर्नुपर्ने, सूचनाको हक हनन गर्ने पदाधिकारी तथा कर्मचारीमाथि कडा कारबाही, गैरकानुनी रूपमा नियुक्त करार कर्मचारी हटाउनुपर्ने माग समेत राखिएको छ।
अनशनकारी बोहराले बेलौरी नगरपालिकामा अलपत्र परेका सडक, सरसफाइ तथा ढल निकासको दीर्घकालीन व्यवस्थापन गर्न, निर्माण सम्पन्न सार्वजनिक सम्पत्तिको संरक्षण र सञ्चालन गर्न तथा युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने कार्यक्रम ल्याउन समेत माग गरेका छन्।
उक्त मागहरू कार्यान्वयनका लागि आवश्यक निर्देशन, अनुगमन र कानुनी प्रक्रिया सुरु नगरेसम्म आफू संविधानसम्मत र शान्तिपूर्ण आमरण अनशन जारी राख्ने उनले बताएका छन्।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगलाई समेत बोधार्थ पठाइएको छ।


Comments are closed.