बालेन शाह आज पुनर्वास–बेलौरी आउँदै, पार्टी कार्यकर्ता उत्साहित
कञ्चनपुर/१३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह (बालेन) आज कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रमा आउने भएका छन्। उनको आगमनलाई लिएर स्थानीय पार्टी कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्।
रास्वपा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार जनकसिंह धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बालेन शाह आज दिउँसो कञ्चनपुर क्षेत्र नं. १ अन्तर्गतको क्षेत्रीय पार्टी कार्यालय, बेलौरी बजारमा उपस्थित हुने कार्यक्रम तय भएको बताएका छन्। उक्त भेटघाट कार्यक्रममा पार्टीको चुनावी रणनीति तथा स्थानीय समस्याका विषयमा सर्वसाधारणसंग छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर समितिका सभापति सुरेश गजुरेलले पनि फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै बालेन शाह आजै दिउँसो पुनर्वासस्थित रास्वपा पार्टी कार्यालयमा आई.बी.आर.डी. (IBRD) बजार आउने कार्यक्रम रहेको जानकारी गराएका छन्। बालेन शाहको उपस्थितिमा स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र संवाद हुने जनाइएको छ।
स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको मुद्दालाई प्राथमिकता दिँदै आएका बालेन शाहको कञ्चनपुर भ्रमणलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। विशेषगरी पछिल्लो समय रास्वपाको चुनावी माहोल सुदृढीकरण र जनसम्पर्क विस्तारमा उनको सक्रियता बढ्दै गएको सन्दर्भमा पुनर्वास–बेलौरी भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बालेन शाहको आगमनले कञ्चनपुरमा रास्वपाको चुनावी गतिविधि थप चलायमान हुने कार्यकर्ताहरुहरुले अपेक्षा गरेका छ्न ।


Comments are closed.