web analytics

सम्पादकीय : झापा–५ को निर्वाचन, परम्परागत शक्ति भर्सेस नयाँ शक्ति

झापा–५ को वर्तमान निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा हेर्नु राजनीतिक यथार्थको सरलीकरण मात्र हुनेछ। यो निर्वाचन मूलतः व्यक्ति वा दलको प्रतिस्पर्धा होइन, यो दुई फरक राजनीतिक दर्शन, दुई पुस्ता र दुई शासकीय दृष्टिकोणबीचको टकराव हो। एकातिर परम्परागत शक्ति छ, जसले पुरानै ढर्राको संसदीय अभ्यासलाई निरन्तरता दिन चाहन्छ; अर्कोतिर नयाँ जेनेरेसनको प्रतिनिधित्व गर्ने शक्ति छ, जसले राज्य सञ्चालनको स्वरूपमै मौलिक परिवर्तनको माग गरिरहेको छ।
यो निर्वाचनमा बालेन र केपी शर्मा ओलीबीच देखिएको प्रतिस्पर्धा वास्तवमा प्रतीकात्मक हो। बालेन यहाँ नयाँ राजनीतिक चेतनाको प्रतिनिधि बनेका छन् भने ओली परम्परागत सत्ताको निरन्तरताको प्रतीक। त्यसैले यो लडाइँ जीत–हारको अंकगणितभन्दा धेरै माथि उठेर राजनीतिक वैधता र अवैधताको बहसमा रूपान्तरित भएको छ।
भाद्र २४ को आन्दोलन यस निर्वाचनको केन्द्रमा छ। यदि बालेन विजयी हुन्छन् भने उक्त आन्दोलनले राजनीतिक र नैतिक वैधता पाउनेछ भन्ने बुझाइ व्यापक छ। यसको अर्थ, नागरिक असन्तोषबाट जन्मिएको आन्दोलनलाई जनमतको अनुमोदन प्राप्त हुनेछ। तर यदि परम्परागत शक्तिका प्रतिनिधि ओली विजयी भए भने भाद्र २४ को आन्दोलनलाई अवैध ठहर गर्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइने सम्भावना पनि त्यत्तिकै प्रबल देखिन्छ। यस अर्थमा, झापा–५ को मतपेटिकाले आन्दोलनको भविष्य मात्र होइन, आन्दोलनकारीहरूको सुरक्षासमेत निर्धारण गर्ने अवस्था सिर्जना गरेको छ।
अझ महत्वपूर्ण पक्ष के भने, यो निर्वाचनले देशको भावी शासकीय स्वरूपतर्फ संकेत गर्नेछ। नयाँ जेनेरेसनको ठूलो हिस्सा कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएको देखिन्छ। उनीहरूको तर्क स्पष्ट छ—अस्थिर गठबन्धन, बारम्बार सरकार परिवर्तन र जिम्मेवारीहीन नेतृत्वबाट देशलाई मुक्त गराउन शासकीय संरचनामै परिवर्तन आवश्यक छ। यही धारमा उभिएका अन्य दल र समूहहरूको राजनीतिक भविष्य पनि यस निर्वाचनको नतिजासँग गाँसिएको छ।
विपरीत दिशामा परम्परागत शक्ति छ, जसले विद्यमान संसदीय प्रणालीलाई नै आफ्नो राजनीतिक अस्तित्वको आधार बनाएको छ। उनीहरूका लागि प्रणाली परिवर्तन भनेको आफ्नो पकड कमजोर पार्नु हो। त्यसैले वर्तमान शासकीय प्रणालीको निरन्तरता  उनीहरूको प्राथमिकता बनेको छ।
झापा–५ को निर्वाचन यसरी एक किसिमको जनमत संग्रहजस्तै बन्दै गएको छ—नयाँ सोच कि पुरानो अभ्यास? जवाफ मतदाताले दिनेछन्। तर यति भने निश्चित छ, यो निर्वाचनले कुनै एक उम्मेदवारको राजनीतिक भविष्य मात्र तय गर्ने छैन; यसले नेपाली राजनीतिमा परिवर्तनको दिशालाई गति दिने कि रोक्ने भन्ने प्रश्नको पनि उत्तर दिनेछ।
अब निर्णय जनताकै हातमा छ। परिवर्तनको चाहना मतपेटिकामा रूपान्तरण हुन्छ कि परम्परागत शक्तिको पुनरावृत्ति हुन्छ ? झापा–५ ले देशलाई स्पष्ट उत्तर दिनेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.