कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जनाको उम्मेदवारी दर्ता
कञ्चनपुर/६ माघ ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार राजनीतिक दलबाट १५ जना र स्वतन्त्रतर्फ ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। दलगत उम्मेदवारहरूमा नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, मंगोल नेशनल अर्गिनाइजेशन पार्टीबाट होम बहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देपेन्द्र बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, राष्ट्रिय जनमोर्चा पार्टीबाट राजाराम चौधरी र उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ रहेका छन्।
यसैगरी नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपालबाट कृष्ण चौधरी, नेकपा एमालेबाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर, आम जनता पार्टीबाट सिता विक तथा नेकपा माओवादी केन्द्रबाट पुरन रानाथारु उम्मेदवार बनेका छन्।
त्यस्तै संयुक्त नागरिक पार्टीबाट दानियल विक र मितेरी पार्टी नेपालबाट सियाराम रानाले पनि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा यादव सिंह, अनिल राना, रुपादेवी बिष्ट र मञ्जुदेवी सुनारले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो।
उम्मेदवारी दर्तासँगै कञ्चनपुर क्षेत्रनम्बर १ मा चुनावी माहोल थप तातिँदै गएको छ ।


Comments are closed.