web analytics

कञ्चनपुर–१ बाट ‘नेपाली कम्युनिस्ट पार्टी’ की उम्मेदवार बिना मगर पक्का

कञ्चनपुर/माघ ३ ।
नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट संघीय सांसद (प्रतिनिधि सभा) का लागि पूर्वमन्त्री तथा प्रभावशाली नेतृ विना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी एकीकरणपछि बनेको नयाँ राजनीतिक समीकरणमा कञ्चनपुर–१ जस्तो रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा मगरलाई अघि सारिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टी नेतृत्वले उनलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको स्रोतको दाबी छ।
विना मगर नेपाली राजनीतिमा स्थापित र चर्चित नेतृका रूपमा परिचित छिन्। माओवादी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी मगर जनयुद्धकालदेखि नै संगठन निर्माण र जनसम्पर्कमा सक्रिय रहँदै आएकी हुन्। उनी नेकपा (माओवादी केन्द्र) की केन्द्रीय नेतृ रहँदै सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन्। मन्त्रीका रूपमा रहँदा उनले सामाजिक न्याय, महिला सशक्तीकरण, पूर्वाधार विकास र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राखेर काम गरेको बताइन्छ।
कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा उनको बलियो राजनीतिक पकड रहेको मानिन्छ। विशेषगरी दक्षिणी भेगका मतदाता, महिला, युवा तथा जनजाति समुदायमा उनको राम्रो प्रभाव रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। पार्टी संगठन विस्तार, आन्दोलन र चुनावी अभियानमा उनको सक्रिय भूमिकाले उनलाई जनस्तरमा परिचित बनाएको छ।
पार्टी एकीकरणपछि बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टीका लागि यो उम्मेदवारी महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कञ्चनपुर–१ मा विना मगरलाई मैदानमा उतारेर पार्टीले आफ्नो जनाधार मजबुत बनाउने र नयाँ राजनीतिक सन्देश दिने प्रयास गरेको बुझिन्छ। आगामी चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिए पनि पार्टी नेतृत्व विना मगरको अनुभव, संगठन क्षमता र जनसमर्थनले सकारात्मक परिणाम दिनेमा नेकपा आशावादी देखिएको छ।
अब कञ्चनपुर–१ मा हुने चुनावी प्रतिस्पर्धा र विना मगरको चुनावी एजेन्डाले स्थानीय तथा राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.