web analytics

राहत शिक्षकको नाममा आर्थिक संकलन नगर्न केन्द्रीय समितिको आग्रह

काठमाडौँ/२९ पुस।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकलाई स्थायी शिक्षक दरबन्दीमा समायोजन गर्ने विषयलाई लिएर भ्रामक सूचना फैलाउँदै आर्थिक संकलन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिले शिक्षा मन्त्रालयसँग स्थायी शिक्षक दरबन्दी समायोजनका विषयमा छलफल भइरहेको अवस्थामा केही व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत अप्रमाणित सूचना प्रवाह गर्दै ‘दरबन्दीमा लगाइदिने’ नाममा राहत शिक्षक साथीहरूबाट आर्थिक संकलन गरिरहेको भन्ने जानकारी प्राप्त भएको स्पष्ट पारेको छ। समितिका अनुसार यस प्रकारको गतिविधिमा संलग्न नहुन तथा कसैलाई पनि आर्थिक सहयोग नगर्न सबै राहत शिक्षकलाई आग्रह गरिएको छ।
हालको राजनीतिक अवस्था अस्थिर रहेकाले सबै राहत शिक्षक एकताबद्ध भई संगठनलाई सुदृढ बनाउँदै आन्दोलन र मागका कार्यक्रमहरूलाई जिम्मेवार ढंगले अघि बढाउनुपर्ने समितिको धारणा छ। आगामी निर्वाचन सम्पन्न भएपछि राहत शिक्षकको स्थायी व्यवस्थापनको कामले गति लिने अपेक्षा गरिएको समितिले जनाएको छ।
यसैबीच, नेपाल राहत शिक्षक केन्द्रीय समितिको नाममा वा समितिसँग सम्बन्धित भएको भनी सामाजिक सञ्जाल तथा विभिन्न सम्पर्क माध्यमबाट अफवाह, भ्रम र अनर्गल दुष्प्रचार फैलाउने प्रयास भइरहेकाप्रति पनि समितिले आपत्ति जनाएको छ। यस्ता भ्रामक गतिविधिबाट सचेत रहन र संगठनको आधिकारिक निर्णय तथा सूचनामाथि मात्र विश्वास गर्न समितिले आग्रह गरेको छ।
समितिले राहत शिक्षकहरूको पेशागत सुरक्षा, न्याय र हकहितको पक्षमा आफू निरन्तर प्रतिबद्ध र समर्पित रहेको दोहोर्‍याउँदै सम्पूर्ण राहत शिक्षकबीच एकता र विश्वास कायम राख्न आह्वान गरेको छ।
उक्त विज्ञप्तिमा केन्द्रीय समितिका अध्यक्ष नवीन सिंह धामी र महासचिव डम्बर राईको हस्ताक्षर रहेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.