स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कपको उपाधि आयोजक टिमलाई
कञ्चनपुर/२५ पुस ।
पुनर्वास नगरपालिका–२ स्थित अरनिको खेलमैदानमा सम्पन्न स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक अरनिको खेलकुद विकास समितिले जितेको छ। बिहीबार साँझ भएको फाइनल खेलमा आयोजक टोलीले न्यु भानु युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो ।
फाइनल खेलमा आयोजकका लागि श्याम बयाडीले १६औँ मिनेटमा पहिलो गोल गरे भने रोहित तामाङले ५२औँ मिनेटमा दोस्रो गोल थपे। ६१औँ मिनेटमा विकास थापाले निर्णायक गोल गर्दै जित सुनिश्चित गरे। न्यु भानु युवा क्लबका अविनाश ऐडीले ५३औँ मिनेटमा सान्त्वना गोल गरेका थिए। फाइनल खेलको म्यान अफ दि म्याच विकास थापा घोषित भए।
कञ्चनपुर जिल्लाका १५ टोली सहभागी प्रतियोगिताको विजेता अरनिकोले नगद २ लाख ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता न्यु भानु युवा क्लबले नगद १ लाख ३० हजार रुपैयाँमा चित्त बुझायो। व्यक्तिगत विधामा अनुशासित खेलाडी निखिल दोङ तामाङ, सर्वाधिक गोलकर्ता श्याम बयाडी, उत्कृष्ट डिफेन्डर दिपेन सिंह ठकुरी र उत्कृष्ट गोलरक्षक दिनेश नेपाली घोषित भए। सर्वोत्कृष्ट तथा उदयमान खेलाडीको उपाधि विकास थापाले जिते।
पुस १५ गतेदेखि सुरु भएको प्रतियोगिता प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन तथा समापन स्व. प्रकाश दाहालकी पत्नी तथा पूर्वमन्त्री बिना मगरले गर्नुभएको थियो। समापन समारोहमा वक्ताहरूले खेलकुदले युवाको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न सहयोग पुर्याउने बताए।


Comments are closed.