web analytics

पुनर्वासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १८ देखि सुरु

कञ्चनपुर/९ माघ
पुनर्वासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १८ देखि सुरु हुने भएको छ ।
पुनर्वास नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको हो । नगर कार्यपालिकाको कार्यालय अन्तर्गत गठित स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको मिति २०८२/१०/०९ गतेको निर्णय अनुसार सो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिता मिति २०८२/१०/१८ गते बिहान ९ बजेदेखि २०८२/१०/२० गतेसम्म जीवनज्योति माध्यमिक विद्यालय, पुनर्वास ६ मा सञ्चालन हुनेछ। प्रतियोगितामा पुनर्वास नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्राहरूले सहभागिता जनाउन सक्नेछन्।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार चालु शैक्षिक सत्रमा पुनर्वास नगरपालिकास्थित विद्यालयहरूमा अध्ययनरत १८ वर्षमुनिका छात्र–छात्राहरू मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रत्येक विद्यालयबाट टिम इभेन्टतर्फ एक–एक टिम र व्यक्तिगत इभेन्टतर्फ बढीमा दुई–दुई जना खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको छ।
एथलेटिक्स इभेन्टमा सहभागी प्रत्येक खेलाडीले बढीमा एक फिल्ड र दुई ट्रयाक वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र भाग लिन पाउनेछन्। सहभागी खेलाडीहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) को अनुसूची–१ बमोजिमको विवरण भरी सम्बन्धित कागजातसहित टिम दर्ता गराउनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको विवरण, IEMIS रजिस्ट्रेसन नम्बर तथा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सहित मिति २०८२/१०/१५ गते अपरान्ह ४ बजेसम्म श्री जीवनज्योति माध्यमिक विद्यालय, त्रिभुवनवस्तीमा बुझाइसक्नुपर्नेछ। जन्मदर्ता प्रमाणपत्र उपलब्ध नभएमा कक्षा ८ वा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न सकिनेछ।
प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथलेटिक्स (ट्रयाक तथा फिल्ड), र मार्सल आर्ट अन्तर्गत कराते प्रतियोगिता सञ्चालन गरिनेछ। एथलेटिक्सतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले समावेश छन्। फिल्ड इभेन्टतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट रहेका छन्।
मार्सल आर्ट (कराते) तर्फ विभिन्न तौल समूहमा छात्र तथा छात्राको प्रतिस्पर्धा हुने जनाइएको छ। साथै काता एकल विधा पनि समावेश गरिएको छ।
नगरपालिकाले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई उच्च अनुशासनमा राख्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयको हुने जनाएको छ। खेलाडीहरूको खाना, खाजा, पोशाक तथा सुरक्षासम्बन्धी सम्पूर्ण व्यवस्था पनि सम्बन्धित विद्यालयले नै गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रतियोगितासम्बन्धी थप जानकारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) बाट लिन सकिनेछ। आवश्यक परेमा फोन नम्बर ०९९–४२००४४ वा मोबाइल नम्बर ९८४८७८४८७८ मा सम्पर्क गर्न सकिनेछ। साथै नगरपालिकाको इमेल info@punarbasmun.gov.np र वेबसाइट punarbasmun.gov.np मार्फत पनि जानकारी लिन सकिने जनाइएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.