web analytics

पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रम : आधुनिक कृषि, पूर्वाधार र डिजिटल सुशासनतर्फको अग्रसरता

कञ्चनपुर, असार १०
पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर उप–प्रमुख भुलिया कुमारी रानाले १७औं नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले समावेशी विकास, दिगो पूर्वाधार निर्माण, सामाजिक न्याय, उत्पादनमुखी कृषि तथा डिजिटल प्रशासनलाई मुख्य प्राथमिकतामा राखेको छ।

कृषि र पशुपालनको आधुनिकीकरण

नीतिमा निर्वाहमुखी खेतीलाई प्रतिस्थापन गर्दै कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिएको छ। “एक वडा, एक कृषि उत्पादन” कार्यक्रमलाई निरन्तरता दिँदै, विद्युतीय सिँचाइ, आधुनिक कृषि औजारमा अनुदान, प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन तथा उत्पादनको बजारीकरणमा नगरपालिका स्वयं संलग्न हुने उल्लेख छ।
पशुपालन व्यवसायमा लगानी बढाएर दूध, मासु र अण्डामा नगरलाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ।

रोजगारी र उद्यमशीलता

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा अभिमुख गराउने विशेष कार्यक्रम सञ्चालन गरिनेछ। बेरोजगारी न्यूनीकरणको लागि ‘पुनर्वास रोजगार प्रवर्द्धन केन्द्र’ स्थापना गरिनेछ।

पूर्वाधार विकास

नगर क्षेत्रका मुख्य र सहायक सडकहरूलाई सबै मौसममा चलायमान बनाउने गरी स्तरोन्नति तथा मर्मत गरिनेछ। अघिल्लो वर्ष निर्माणाधीन कालोपत्रे सडक तथा भवन योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गरिनेछ। पुनर्वास रंगशाला तथा कोल्ड स्टोर निर्माण कार्य अघि बढाइनेछ। अपाङ्गमैत्री भौतिक संरचनाको नीति यस वर्ष पनि यथावत् रहनेछ।

शिक्षा र स्वास्थ्य

“हाम्रो सभ्य पुनर्वास नगर, गुणस्तरीय शिक्षामा समतामूलक अवसर” भन्ने नारासहित विद्यालयहरूमा बालमैत्री तथा अपाङ्गमैत्री वातावरण निर्माण गरिनेछ। ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमलाई निरन्तरता दिइनेछ। कक्षा ५ र ८ को परीक्षा नगरस्तरमा सञ्चालन गर्दै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनेछ।
स्वास्थ्य क्षेत्रमा, सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। एक सर्पदंश उपचार केन्द्र स्थापना गरिनेछ। रेडक्रससँग समन्वयमा निःशुल्क रगत उपलब्ध गराउने योजना तथा सुत्केरी पोषण र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिनेछ।

डिजिटल प्रशासन र सुशासन

विद्युतीय शासन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। ‘एकद्वार सेवा प्रणाली’ लागू गर्दै सेवा छरितो र पारदर्शी बनाइनेछ। शान्ति सुरक्षाका लागि संवेदनशील स्थानहरूमा CCTV जडान गरिनेछ।
बेरुजु न्यूनीकरण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइनेछ।
पुनर्वास नगरपालिकाको २०८२/८३ नीति तथा कार्यक्रमले आधुनिक कृषि, उत्पादनमुखी रोजगारी, पूर्वाधार विकास, सामाजिक समावेशिता र प्रविधि–मैत्री प्रशासनको संयोजनमार्फत समृद्ध र आत्मनिर्भर नगर निर्माणतर्फको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.