काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ को मृत्यु
काभ्रे, २७ माघ — काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार दुर्घटनास्थल र अस्पतालमा गरी हालसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। उनका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने ६ जनाको शव घटनास्थलमै फेला परेको छ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानमा दुर्घटनामा परेको हो। प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको उक्त बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा खोजी कार्य निरन्तर जारी राखेको सीडीओ थापाले जानकारी दिएका छन्।


Comments are closed.