ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
काठमाडौं /२३ पुस।
ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
प्रधानमन्त्रीसँगको भेटका क्रममा मन्त्री घिसिङले हाल विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिएको बताएको स्रोतले जनाएको छ। पछिल्लो समय मन्त्री घिसिङ राजनीतिक गतिविधिमा संलग्न भएको आरोप तथा विवाद सार्वजनिक भइरहेका बेला उनले पदबाट अलग हुने निर्णय लिएको बताइएको छ।
राजीनामा बुझाएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै घिसिङले आफ्नो कदम सरकार र पार्टीको छवि जोगाउनका लागि भएको बताए। “सरकारको कामकारवाहीमा कुनै प्रकारको असर नपरोस् भन्ने उद्देश्यले मैले राजीनामा दिएको हुँ,” उनले भने।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङको राजीनामा ग्रहण गर्ने वा नगर्ने विषयमा मन्त्रिपरिषद्मा छलफलपछि निर्णय गरिने बताइएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार यस विषयमा औपचारिक निर्णय चाँडै सार्वजनिक गरिनेछ।
ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिसिङ पछिल्लो समय विभिन्न नीतिगत निर्णय र राजनीतिक बहसका कारण चर्चामा थिए। उनको राजीनामासँगै सरकारभित्र थप राजनीतिक तरंग सिर्जना भएको छ भने आगामी दिनमा मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना पनि बढेको विश्लेषकहरूले बताएका छन् ।


Comments are closed.