web analytics

निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा लिने सरकारको तयारी

काठमाडौं, ९ बैशाख ।
शिक्षकहरुले नमानेको खण्डमा सरकारले निजामती कर्मचारी खटाएर भएपनि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने सरकारले तयारी गरीरहेको छ । यद्यपी निजामति कर्मचारी खटाउनेबारे छलफल भएपनि निर्णय भने भईसकेको छैन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गराउने भएको छ। शिक्षक आन्दोलनले परीक्षा हुने नहुने अन्योल बढिरहेको बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमा गराउने निर्णय गरेको हो ।
तर, आन्दोलनरत शिक्षकले कक्षा १२ को परीक्षा सहभागी नहुने बताउँदै आएका छन्। शिक्षक महासंघले नै कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ।
बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा संवेदनशील विषय भएकाले शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्ने निर्णय भएको उनको भनाई छ। उनले भने, ‘हामी छलफलमै छौं। परीक्षा संवेदनशील विषय भएकाले शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्छौं। कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ।’
परीक्षा प्रभावित हुँदा करिब साढे पाँच लाख विद्यार्थीको परीक्षा अनिश्चित हुने भएकाले सरकार गम्भीर रुपमा लागेको बताइएको छ। आन्दोलनले एसईईको मूल्यांकन तथा नयाँ भर्ना प्रक्रियासम्मलाई अवरुद्ध गरिदिएको छ। प्रवेशपत्र हातमा बोकेका विद्यार्थी परीक्षा केन्द्र जाने, नजाने भन्ने अन्योलमा थिए।
सरकारले शिक्षकहरूको माग पूरा गर्ने बताएपनी ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने भन्दै शिक्षकहरू भने निरन्तर आन्दोलित भैरहेका छन्। उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।
काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म नै शिक्षक भरिएका छन्। शान्तिपूर्ण रूपमा उनीहरूले आन्दोलन गरिरहेका छन्। सडकमा गीत गाउँदै नाच्दै प्रदर्शन गरिरहेका छन्। शिक्षक आन्दोलनका दिनदेखि नै काठमाडौंको यातायात पनि प्रभावित छ। दिउँसो माइतीघर बबरमहलदेखि नयाँबानेश्वरसम्मको यातायात ठप्प हुने गरेको छ। सडकमा शिक्षकको भरिभराउ भएका कारण सर्वसाधारण यात्रुहरूले भने सास्ती बेहोर्दै आएका छन्।

चैत २० गतेदेखि देशभरबाट विद्यालयमा ताला नै लगाएर शिक्षक,कर्मचारी काठमाडौं आएका छन्। १२ बजेबाट ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले बिहान ९ बजेदेखि दिउँसो १२ सम्म आन्दोलन गर्न सुरु गरेका हुन्। सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले समेत राजीनामा दिएकी छन्।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.