पुनर्वासको निर्माणाधीन कभर्डहल सार्वजनिक शौचालयमा बन्यो
सरोकारवालाले ध्यान दिन नसक्दा जनताको लाखौ रुपैयाँ खेर जाने अवस्थामा
कञ्चनपुर, १३ जेठ ।
पुनर्वासको निर्माणाधीन कभर्डहल अलपत्र परेको छ । निर्माण पक्षले समयमै निर्माण पूरा गर्न नसक्दा कभर्डहल बाटो हिडने मानिस तथा स्थानीयले दिसापिसाब गर्ने ठाउँ बनाएका छ्न । त्यसैगरी लागुपदार्थ दुर्व्यसनी र दुराचारीहरुले सुरक्षित स्थानको रुपमा प्रयोग गर्दै आईरहेका छ्न । निर्माणाधीन कभर्डहलको अफिस प्रयोजनका लागि बनेको कोठाहरुको झ्यालढोका फोडिएको छ । र अफिस भित्रका दराजहरु पनि तोडफोड गरीएका छन । पानी तान्ने मोटर लगायत थुप्रै सामाग्रीहरु चोरी भैसकेको छ ।
आर्थिक वर्ष २०७४/७५ सालमा तत्कालीन खानेपानी मन्त्री बिना मगरको पहलमा केन्द्रबाट १५ लाख बजेट पारिए पछि सो कभर्डहल निर्माण सुरु भएको तर समयमै काम गर्न नसक्दा अधिकांस रकम फ्रीज गएको युवा समाजसेवी तथा भानु खेलकुद विकास समिति सदस्य हिमेश थापाले बताए ।
आर्थिक वर्ष २०७६/७७ सालमा पुन: २० लाख बजेट पारिएपनी कोरोनाका कारण काम गर्न धेरै कठिनाई भएको, १७ लाखको काम गर्न सफल भएको भानु युवा क्लबका अध्यक्ष पदम पुजाराले बताए । १७ लाखमा तीन कोठा लेण्टर गरेको, माटो फिलिङ्ग गरेको र सटर ट्रस हाल्ने काम सुरु गरेको अध्यक्ष पुजाराले बताए । अन्य काम सकिएको भएपनी सटर र ट्रसको काम भने आईबिआरडी बजारका सुवास बि.क.को लापरबाहीको कारण अलपत्र परेको अध्यक्ष पुजाराले प्रष्ट पारे ।
पुनर्वास ५ स्थित भानु युवा क्लबको मैदान नजिकै निर्माण भईरहेको सो कभर्डहल कुनै एउटा क्लबलाई स्वामित्व नदिई पुनर्वासका सबै बस्तीहरुको साझा बनाईदिदा पनि संरक्षण र निर्माण कार्य अस्तव्यस्त भएको भनाई छ । हाल यसको निर्माण कार्य भानु खेलकुद विकास समितिले जिम्मा लिए पनि बजेट अभावमा निर्माण, व्यवस्थापन र रेखदेख गर्न नसकिएको बताईन्छ ।
यसरी पुनर्वासमा निर्माण हुन लागेको कभर्डहल नबन्दै तोडफोड भएको छ । जनताले गाँस काटेर तिरेको लाखौ रुपैयाँ खेर गएको छ । यसमा सम्बधित निकायलाई खबरदारी गर्न आवश्यक देखिन्छ ।


Comments are closed.